प्रदेशको अधिकार बलियो बनाउन कोशी प्रदेशको विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ। संघीयता कार्यान्वयन भएको नौ वर्ष पुगिसक्दा पनि प्रदेश सरकारहरूले संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गर्न नपाएको गुनासो बढिरहेका वेला २२ र २३ असोजमा सातै प्रदेशका मुख्यमन्त्रीको विराटनगरमा सम्मेलन हुन लागेको हो।
कोशी प्रदेश सरकारको आयोजनामा हुने उक्त सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारी सहभागी हुनेछन्। संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका समस्या पहिचान गरी प्रदेश सरकारको भूमिका थप प्रभावकारी बनाउने विषय सम्मेलनको मुख्य एजेन्डा रहने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए।
प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि संघ, प्रदेश र स्थानीय तहबिच अधिकार तथा जिम्मेवारीको स्पष्ट कार्यविभाजन हुन नसकेको उनको भनाइ छ। कतिपय संवैधानिक अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन अझै बन्न नसकेको तथा संविधानले सुनिश्चित गरेका प्रशासनिक र वित्तीय अधिकारसमेत प्रदेशहरूले पूर्ण रूपमा उपयोग गर्न नपाएको उनले बताए।
मुख्यमन्त्री कार्कीका अनुसार कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने मुख्यमन्त्री सम्मेलनले यिनै साझा समस्यामा प्रदेशहरूको साझा धारणा निर्माण गर्नेछ।