उत्तर अन्डमान सागरमा विकसित बंगालको खाडीमा रहेकाे न्यूनचापीय क्षेत्र (डिप्रेसन) आगामी २४ घन्टामा थप शक्तिशाली बन्ने सम्भावना छ ।
भारतीय मौसम विभाग (आइएमडी) का अनुसार न्यूनचापीय क्षेत्र थप शक्तिशाली बनेर बुधबार रातिदेखि बिहीबार बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रमा विशाखापट्टनम र गोपालपुरबिचबाट जमिनमा प्रवेश (ल्यान्डफल) गर्ने सम्भावना छ ।
यो प्रणाली सिधै नेपाल प्रवेश गर्ने होइन । तर, यसको पश्चिम–उत्तरपश्चिमतर्फको गति र त्यससँग सम्बन्धित चिस्यानको प्रवाहले नेपालको मौसमलाई प्रभावित गर्न सक्छ ।
नेपाल मौसम विज्ञान विभागले पनि बंगालको खाडीमा विकसित प्रणाली क्रमशः बलियो हुँदै गएको र त्यसको प्रभाव नेपालमा देखिन सक्ने बताइसकेको छ । विभागका अनुसार यसको प्रभाव बुधबारदेखि नेपालमा देखिन थाल्न सक्छ । यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा हुन सक्ने तथा त्यसपछि गण्डकी र लुम्बिनी प्रदेशमा समेत वर्षाको गतिविधि बढ्न सक्ने आकलन गरिएको छ ।
शुक्रबारदेखि आइतबारसम्म नेपालका अधिकांश स्थानमा वर्षा हुने र केही क्षेत्रमा ठुलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन भनिएको छ ।
न्यूनचापीय प्रणाली र उपल्लो वायुमण्डलको ट्रफले कसरी बढाउँछ वर्षा ?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव अहिले पनि छ । तर, बिहीबार नेपालजनिक आउने सम्भावना छ ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव (तल्लो वायुमण्डलमा) पनि यही बेला पर्ने र उपल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली नेपालनजिक भएमा दुई प्रणालीको समिश्रण हुन सक्छ । ‘दुवै सिस्टम सक्रिय हुँदा ठुलो वर्षा पनि हुन सक्छ,’ मौसदविद् महर्जनले भनिन्, ‘पश्चिमी वायुको प्रभाव विशेष गरी पश्चिमी क्षेत्रमा बढी पर्ने देखिन्छ ।’ त्यही भएर महाशाखाले पनि गण्डकी र लुम्बिनी क्षेत्रमा बढी जोखिम भनेको छ । मनसुनको न्यूनचापीय रेखा भने सरदरभन्दा दक्षिण छ ।
बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीले समुन्द्रबाट चिस्यानयुक्त हावा तान्ने र त्यसको प्रभाव उत्तरपश्चिमतर्फ फैलिँदा भारत हुँदै नेपालको वायुमण्डलमा पनि चिस्यान बढाउन सक्छ । त्यसमाथि उपल्लो वायुमण्डलमा न्यूनचापीय क्षेत्र अर्थात् ट्रफ अनुकूल अवस्थामा रहेमा त्यसले चिस्यानयुक्त हावालाई माथितर्फ उठ्ने वातावरण बनाउन सक्छ ।
हावा माथि उठेपछि चिसिँदै बादल निर्माणको प्रक्रिया तीव्र हुन्छ । पर्याप्त चिस्यान र वायुमण्डलीय अस्थिरता रहेमा ठुलो आकारका बादल विकसित भएर वर्षाको मात्रा बढ्न सक्छ । तर, यी दुई प्रणाली देखिँदैमा अत्यधिक वर्षा हुन्छ भन्ने होइन ।
वर्षाको मात्रा र प्रभाव प्रणालीको शक्ति, गति, स्थान, चिस्यानको मात्रा र नेपालको स्थानीय भौगोलिक अवस्थालगायत धेरै पक्षमा निर्भर हुन्छ । मौसमविद् महर्जनका अनुसार उपल्लो वायुमण्डलमा ट्रफ नेपालमा बन्ने नभई प्रणाली नेपालनजिक आउने हो ।
त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले दुईवटा सिस्टम एकसाथ सक्रिय हुने भएकाले नै जोखिम बढेको बताए । ‘उपल्लो वायुमण्डलमा ट्रफ र तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली एकसाथ सक्रिय हुँदा ठुलो वर्षा भएको देखिन्छ,’ उनले भने, ‘मनसुन उत्तरार्धमा रहेका वेला यी प्रणाली सक्रिय हुँदा असोजमा ठुलो पानी परेका घटना छन् ।’