राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघसंस्थाको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट सहकारी संस्थाहरूको अभिलेख, प्रविधिगत सामग्री तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि बैंकले पुनर्स्थापनाका लागि उक्त रकम विनियोजन गरेको हो। बैंकका अनुसार सम्बन्धित जिल्ला सहकारी संघहरूसँगको समन्वय तथा बैंकको सञ्चालक समितिबाट स्वीकृत मापदण्डका आधारमा २० लाख रुपैयाँ प्रभावित सहकारी संस्थालाई वितरण गरिनेछ।
यसैबिच, बाढीपहिरोबाट बैंकको नुवाकोट शाखामा कार्यरत तीन कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेपछि बैंकका कर्मचारीहरूले स्वस्फूर्त रूपमा ६ लाख चार हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन्। संकलित रकमबाट प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले समेत एक दिनबराबरको बैठक भत्ता योगदान गर्ने भएका छन्। यस्तै, सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरिने भएको छ।
बैंकले बाढीपहिरोमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपतकाे समयमा उद्धार, राहत तथा पुनर्स्थापनामा सक्रिय नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवी संस्था तथा अन्य सरोकारवाला निकायको भूमिकाको प्रशंसा गर्दै बैंकले प्रभावित नागरिकका लागि सुरक्षित उद्धार, अस्थायी आवास, खाद्यान्न, खानेपानी तथा स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकता शीघ्र सुनिश्चित गर्न आग्रह गरेको छ।
सहकारी अभियानको साझा अभिभावक तथा सहकारी क्षेत्रको अग्रणी वित्तीय संस्थाका रूपमा बैंकले प्रभावित सहकारी संस्थाहरूको पुनर्स्थापना, सेवा प्रवाहको निरन्तरता तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक वित्तीय, प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।