ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये करसहित ६ प्रतिशत नगद लाभांश र चार प्रतिशत बोनस सेयर रहेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ दी इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक इएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित पुरस्कारहरूसमेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।