मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १३ शनिबार
  • Saturday, 29 August, 2026
२o८३ भदौ १३ शनिबार १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माथिल्लो त्रिशूली–३ ‘बी’ सुरुङमा उद्धार प्रयास तीव्र, ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १३ शनिबार १५:५९:oo

 बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै उद्धार प्रयासलाई तीव्र बनाएको छ।

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा उच्च प्राविधिक दक्षता भएका ६ सदस्यीय चिनियाँ विज्ञ टोलीलाई घटनास्थलमा परिचालन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि आवश्यक प्राविधिक काम सुरु गर्नेछ।

संयुक्त नेपाली–चिनियाँ टोलीले सुरुङभित्रको वर्तमान अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्राविधिक ‘रेकी’ तथा अनुगमन गर्नेछ। प्रारम्भिक प्राविधिक अध्ययनबाट उद्धार सम्भव हुने देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गरिने तयारी छ।

सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको बताइएको छ। यद्यपि, नेपाल सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक विज्ञहरूको संयुक्त प्रयासबाट सुरुङभित्र फसेका मानिसहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव प्रयास भइरहेको सचिवालयकाे भनाइ छ । 

उद्धार कार्यमा प्राविधिक सम्भाव्यता, सुरुङभित्रको जोखिम तथा उपलब्ध स्रोत–साधनको मूल्यांकन गर्दै सुरक्षित ढंगबाट अघि बढ्ने तयारी गरिएको छ।