मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
यम बम काठमाडाैं
२o८३ भदौ १२ शुक्रबार o६:४१:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ल्हेन्दे खोलाको बहाब रोकिएर बन्यो ११ हेक्टरको ताल, भोटेकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बुधबार विनाशकारी बाढी ल्याउने गरी हिमचट्टान खसेको चीनतर्फको क्षेत्रमा बनेको तालका कारण बाढीको जोखिम कायमै

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o६:४१:oo

रसुवागढी नाकाबाट करिब १८ किमि चीनतर्फ ल्हेन्दे खोलाको बहाव थुनिएर ठुलो ताल बनेपछि भोटेकोशीमा फेरि बाढीको जोखिम देखिएको छ । त्यहाँ ११ हेक्टर (करिब ०.११ वर्गकिमि) क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ्दै गएकाले जुनसुकै वेला फुटेर बाढी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद् प्रकाश पोखरेलका अनुसार ल्हेन्दे खोलाको बहाब रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ । ‘बुधबार हिमचट्टान खसेर भोटेकोशीमा बाढी आएको थियो । त्यही हिमपहिरोको अवशेषले ब्लक गरेपछि ताल बनेको हो,’ पोखरेलले भने, ‘स्याटेलाइट तस्बिर विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले ल्हेन्दे खोलाको बहाब रोकिएर ताल बनेको देखाएको हो । ताल निरन्तर बढिरहेको देखिन्छ । पानीको निकास नहुने, तर ताल बढ्दै जाने हो भने फुट्ने खतरा हुन्छ । फुटेमा यसले फेरि ठुलो बाढी निम्त्याउन सक्छ ।’

स्याटेलाइट विश्लेषणबाट तालको सतह क्षेत्रफल ११ हेक्टर देखिए पनि यसको गहिराइ यकिन भएको छैन । जसकारण तालमा कति पानी जम्मा भएको छ भन्ने अहिले नै निर्धारण गर्न सकिएको छैन । ‘उदाहरणका लागि यो तालको गहिराइ पाँच मिटर छ भने ५.५ घनमिटर (५५ करोड लिटर) पानी हुन सक्छ । १० मिटर गहिराइ छ भने ठ्याक्कै दोब्बर हुन्छ,’ पोखरेलले भने, ‘तर, हामीले गहिराइ निर्धारण गर्न सकेका छैनौँ, थप तस्बिर उपलब्ध भएमा विश्लेषण हुनेछ ।’

ग्लोबल टाइम्सले तालमा २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी निस्कन थालिसकेको उल्लेख गरेको छ । चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै लेखिएको समाचारमा आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने र ताल फुट्न सक्ने चेतावनी दिएको छ । 

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले बुधबारको जस्तो जोखिम नरहे पनि सतर्क रहनुपर्ने देखिएको बताए । ‘चीनबाट आएको सूचनाअनुसार ३० लाख घनमिटर पानी छ भनिएको छ । यो बुधबारको तुलनामा निकै कम हो । बुधबार बाढी आउँदा देवघाट केन्द्रमा प्रतिसेकेन्ड थप दुई करोड घनमिटर पानी बगेको छ । बाढी आउनुअघिको पानीको बहाव सात करोड घनमिटर थियो,’ उनले भने, ‘त्यसैले बुधबारको जस्तो जोखिम नभए पनि भग्नावशेष अवस्थामा रहेकाले सचेत भने रहनुपर्छ ।’

बुधबारको बाढीपछि दुईवटा गम्भीर प्रश्न उठेका छन् । पहिलो– चीनले समयमै सूचना किन दिएन ? र, बाढी आउँदै गर्दा पनि नेपालका जलमापन केन्द्रबाट समयमै सूचना प्रवाह किन हुन सकेन ? यसमा नेपालस्थित चिनियाँ दूतावासले बिहीबार सूचना जारी गर्दै ‘चीनतर्फ तीनजनाको मृत्यु र ५५८ जना बेपत्ता रहेकाले समयमै सूचना नदिएको गुनासो गलत रहेको’ दाबी गरेको छ ।

नेपालका जलमापन केन्द्रबाट किन समयमै सूचना प्रवाह हुन सकेन भन्ने विषयमा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोधेका छौँ । उनका अनुसार हिमाली क्षेत्रमा मुख्य समस्या नै पूर्वसूचना प्रणाली रहेको छ । ‘यो बाढीलाई ‘फ्ल्यास फ्लड’ भनिन्छ, जुन हिमताल वा हिमपहिरो विस्फोट भएर आउँछ । हामीले बाढी आइसकेपछि मात्रै थाहा पाउने हो । नदीमा रहेका जलमापन केन्द्रले त्यहाँ पानीको सतह कति पुग्यो भनेर मापन गर्ने हो । हामी थ्रेसहोल्डका आधारमा बाढी कति पुग्यो र अब के हुन सक्छ भनेर अनुमान गर्ने हो । तर, बुधबारको बाढी आकस्मिक थियो, एकैपटक आएर क्षति गरायो,’ उनले भने, ‘हिमाली क्षेत्रमा फ्ल्यास फ्लडको पूर्वानुमान गर्न सहज छैन । चीनजस्तो विकसित देशले समेत सकेको छैन भने हामीले कसरी गर्न सक्छौँ ? तर, यी घटनाबाट हामीले सिक्नुपर्छ ।’

यो बाढीले मितेरी पुलनजिकै रहेको जल मापन केन्द्र बगाएको थियो । ‘भोटेकोशी रसुवागढी स्वचालित जलमापन केन्द्र सीमाबाट करिब एक किलोमिटर तल छ, यो केन्द्रबाट बुधबार बिहान ८ः ४० बजे सूचना प्राप्त भएको छ । अन्तिम जलसतह १.६२ मिटर थियो । त्यहाँको सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर हो,’ पराजुलीले भने, ‘त्यसपछि तथ्यांक नआउँदै केन्द्र बगाएको छ ।’

सीमाबाट नौ किलोमिटर तल स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान ८ः५० बजे ३.८ मिटर जलसतह देखिए पनि त्यसपछि केन्द्र बगाएको देखिन्छ । बाढीले सीमाबाट ३६ किलोमिटर तल नुवाकोटको बेत्रावती र मलेखु जलमापन केन्द्र पनि बगाएको थियो ।

मुग्लिननजिकै रहेको कालीखोला जलमापन केन्द्रमा भने दिउँसो २ः १४ बजे खतरा तह १२.१ मिटर पार गरी उच्चतम जलसतह १२.३५ मिटर मापन भएको छ । देवघाटमा भने ३ः २० बजे बाढी पुगेको महाशाखाले जनाएको छ । त्यहाँ दिउँसो ४ बजे जलसतह ६.५७ मिटर उच्चतम विन्दु पुगेपछि घट्न थालेको थियो । ‘देवघाट क्षेत्रमा बाढीका वेला अतिरिक्त दुई करोड घनमिटर पानी बगेको देखिन्छ,’ पराजुलीले भने ।

बाढी रसुवागढी पुगेको खबर जिल्ला प्रशासनमार्फत प्राप्त भएपछि भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रलाई आधार मानेर एनटिसी र एनसेलबाट सात लाख एसएमएस पठाइएको उनले बताए । 

‘भूकम्पले हिमचट्टान खसेको होइन, हिमचट्टान खस्दा कम्पन भएको हो’
बुधबार भोटेकोशीमा बाढी जाने गरी हिमचट्टान खस्नुको कारण भूकम्प नरहेको पाइएको छ । बरु हिमचट्टान भोटेकोशीको सहायक नदी ल्हेन्देमा खस्दा निस्किएको कम्पन भूकम्पका रूपमा मापन भएको थियो ।

नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्र, अमेरिकाको अमेरिकी भूगर्भ सर्वेक्षणसहितले रसुवागढी सीमा क्षेत्रआसपास बुधबार बिहान ८:३७ मा ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको आआफ्ना वेबसाइटमा उल्लेख गरेका थिए  । सोही आधारमा परराष्ट्रमन्त्री शिशिर खनालले पनि बुधबारको संसद् बैठकमा ‘भूकम्पका कारण हिमपहिरो गएको प्रारम्भिक सूचना प्राप्त भएको’ जानकारी दिएका थिए ।

तर,  हिउँसहितको चट्टान भत्किँदाको कम्पन ५.५ म्याग्निच्युडसरह मापन भएको निष्कर्ष निकालेको छ, जसको कम्पन ५५ किलोमिटरसम्म पुगेको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् राजेश शर्माले पनि त्यो घटना भूकम्प नरही हिमपहिरोको कम्पन रहेको पाइएको र सोहीअनुसार पुनर्विचार गरिएको बताए ।

बाढीको पूर्वसूचना किन भएन ? 

विनोद पराजुली

बुधबारको बाढीपछि दुईवटा गम्भीर प्रश्न उठेका छन् । पहिलो– चीनले समयमै सूचना किन दिएन ? र बाढी आउँदै गर्दा पनि नेपालका जलमापन केन्द्रबाट समयमै सूचना प्रवाह किन हुन सकेन ? यसमा नेपालस्थित चिनियाँ दूतावासले बिहीबार सूचना जारी गर्दै ‘चीनतर्फ तीनजनाको मृत्यु र ५५८ जना बेपत्ता रहेकाले समयमै सूचना नदिएको गुनासो गलत रहेको’ दाबी गरेको छ ।

नेपालका जलमापन केन्द्रबाट किन समयमै सूचना प्रवाह हुन सकेन भन्ने विषयमा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोधेका छौँ ।

उनी भन्छन्, ‘यो बाढीलाई ‘फ्ल्यास फ्लड’ भनिन्छ, जुन हिमताल वा हिमपहिरो विस्फोट भएर आउँछ । हामीले बाढी आइसकेपछि मात्रै थाहा पाउने हो । नदीमा रहेका जलमापन केन्द्रले त्यहाँ पानीको सतह कति पुग्यो भनेर मापन गर्ने हो । हामी थ्रेसहोल्डका आधारमा बाढी कति पुग्यो र अब के हुन सक्छ भनेर अनुमान गर्ने हो । तर, बुधबारको बाढी आकस्मिक थियो, एकैपटक आएर क्षति गरायो । हिमाली क्षेत्रमा फ्ल्यास फ्लडको पूर्वानुमान गर्न सहज छैन । चीनजस्तो विकसित देशले समेत सकेको छैन भने हामीले कसरी गर्न सक्छौँ ? तर, यी घटनाबाट हामीले सिक्नुपर्छ ।’