मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ६ शनिबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ ६ शनिबार o६:२६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अदालतको पुनरवलोकनअगावै कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर

देउवा–थापा संवाद गराउने कसरत, महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ ६ शनिबार o६:२६:oo

कांग्रेसमा अदालतको पुनरवलोकन प्रक्रियाले पार्टी विभाजन थप गहिरिने जोखिम बढिरहेका वेला नेता शेखर कोइराला एकताको मध्यमार्गी भूमिकामा सक्रिय भएका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनदेवीस्थित निवासमा भेटेर सर्वोच्च अदालतको फैसला पुनरवलोकन हुनुअगावै दुवै पक्ष लचिलो भएर पार्टी एकताको प्रयास गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

फैसला जसको पक्षमा आए पनि त्यसपछि पार्टी एकताको सम्भावना थप जटिल बन्न सक्ने भन्दै कोइरालाले अहिले नै देउवा र सभापति गगन थापाबिच संवाद गराएर सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । यसअनुसार घटनाक्रम पनि विकसित भएका छन् ।

देउवा पक्षले असोजमा तय गरिएको १५औँ महाधिवेशन रोक्न सर्वोच्चमा दर्ता गर्न खोजेको रिट ‘थप अध्ययन’का लागि रोकिएको छ । उता, कोइरालाले पुनरवलोकन प्रक्रिया चलिरहेका वेला संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।

शेखरसँगको भेटमा देउवा आफू एकताको पक्षमा रहेको, तर थापाबाट अहिलेसम्म पार्टी मिलाउने विषयमा ठोस पहल नभएको भन्दै असन्तुष्ट देखिएका छन् । ‘म मिल्ने पक्षमै त छु, नमिल्ने कहिले, कहाँ भनेको छु ? 

तर, कसरी मिल्ने, के गर्ने, गगन थापाले ठोस पहल त गर्नुपर्‍यो नि !’ कोइरालासँग देउवाको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले नयाँ पत्रिकासँग भने । 

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पार्टी मिलाउने प्रयासस्वरूप शेखर कोइरालाले पाँचबुँदे र सातबुँदे प्रस्तावमा सहमति गराउने प्रयास गरे पनि संस्थापन पक्षले चासो नदेखाएपछि समस्या झन् जटिल बनेको बताएका छन् । सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरवलोकनका लागि निस्सा आएपछि अब पनि पार्टी मिल्न सक्ने सम्भावनाबारे उनले निवर्तमान सभापति देउवासँग छलफल गरेको बताए ।

‘एकातिर निस्सा नै नहुने, मुद्दा जितिसक्यौँ, कहाँ मिल्ने भनेर अडान राख्ने र अर्कोतिर हामी पुरानै होइनौँ, कांग्रेस बदलिइसक्यो, अब कहाँ उनीहरूलाई ल्याउने भन्ने दुवैतिरका अतिवादी विचारले पार्टीलाई मिल्न दिइरहेको छैन । त्यसैले डाक्टरसाप (शेखर कोइराला) स्पष्ट हुनुहुन्छ,’ थपलियाले भने, ‘यही कारणले संवादका लागि वातावरण पनि नबनेपछि देश संकटमा परेका वेला कांग्रेस जसरी पनि मिल्नुपर्छ, मिलाउनुपर्छ भन्ने अभियानमा उहाँ हुनुहुन्छ । अहिले त्यही लाइनमा देउवा दाइसँग कुरा गर्नुभएको हो ।’

कोइराला र उनको पक्षका धेरै नेता–कार्यकर्ता निवर्तमान सभापति देउवा पक्षले २९ साउनमा गरेको भेलामा सहभागी थिए । संस्थापन पक्षले पाँचबुँदे र सातबुँदे प्रस्तावमा सहमति जनाएपछि उक्त भेलालाई एकता भेलामा रूपान्तरण गर्न सकिने पक्षमा कोइराला थिए । त्यसै सिलसिलामा उनले सभापति थापासँग संवादसमेत गरेका थिए । तर, सर्वोच्च अदालतले निस्सा दिएपछि पुनरवलोकनको फैसलाबाट एउटा पक्ष बाहिरिने र एकताको ढोका नै बन्द हुने जोखिम देखिएपछि कोइरालाले देउवा–थापाबिच संवाद गराएर पार्टी एकताका लागि अन्तिम प्रयास थालेका हुन् । 

‘होल्ड’मै देउवा पक्षको रिट 
निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी असोजका लागि संस्थापन पक्षले तय गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै दर्ता गर्न खोजेको निवेदनमाथि सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ । संस्थापनले निर्णय गरेको महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवणकुमार श्रेष्ठले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोजेका थिए । तर, थप अध्ययनका लागि निवेदन दर्ता नभएको सर्वोच्च प्रशासनले बताएको छ ।

संस्थापनको महाधिवेशन प्रक्रियामा सामेल नहुन शशांकको अपिल 
देउवा समूहका संयोजक डा. शशांक कोइरालाले संस्थापन पक्षले अगाडि सारेको महाधिवेशन कार्यतालिका र प्रक्रियाले पार्टी विभाजन गर्न सक्ने खतरा औँल्याएका छन् । उनले त्यससम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता–कार्यकर्तालाई शुक्रबार अलग्गै अपिल गरेका छन् ।

‘कथित विशेष महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रूपले विभाजित रहेको छ । यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्‍यो भने पार्टीका सबै तहमा संरचनागत रूपमा विभाजनको प्रक्रिया सुरु हुने स्पष्ट देखिन्छ र आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ,’ कोइरालाले भनेका छन्, ‘तसर्थ तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न–नगराउन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपिल गर्दछौँ ।’ सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता भएकोमा उनले जोड दिएका छन् ।