मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १२ शुक्रबार o७:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बस र ट्रक गरेर नौ सयभन्दा बढी गाडी बेपत्ता : मानसरोवर जाने यात्रु बोकेका मात्रै ४० गाडी बेपत्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o७:o८:oo

बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढीमा परेर चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चार सयभन्दा बढी यात्रुवाहक गाडी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

हालसम्म विभिन्न यातायात कम्पनीबाट २१९ वटा यात्रुवाहक गाडी बेपत्ता भएको विवरण महासंघमा प्राप्त भएको छ । अन्य कम्पनीबाट पनि विवरण आउने क्रम जारी रहेकाले बेपत्ता सवारीसाधनको संख्या अझ बढ्न सक्ने महासंघका महासचिव तथा प्रवक्ता टेकनाथ गौतमले बताए । ‘पर्यटन, तीर्थ र सर्वसाधारण बोकेर हिँडेका चार सयभन्दा बढी गाडी बाढीमा बेपत्ता भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । मानसरोवर जाने तीर्थयात्रु बोकेका मात्रै करिब ४० वटा गाडी बेपत्ता छन् । यसैगरी ६० भन्दा बढी साना माइक्रोबससमेत हराएको प्रारम्भिक विवरण छ । ‘विवरण आउने क्रम जारी छ । भोलिदेखि अझ विस्तृत विवरण आउनेछ,’ महासचिव गौतमले भने । गोसाईंकुण्ड, मानसरोवरसहित रसुवा र नुवाकोटका विभिन्न गन्तव्यतर्फ गइरहेका सवारीसाधन बाढीमा परेका हुन् । उनका अनुसार चार सयभन्दा बढी चालक तथा सहचालकसमेत सम्पर्कविहीन छन् । ती सवारीसाधनमा कति यात्रु थिए भन्ने यकिन विवरण भने अझै आउन सकेको छैन । ‘के–कति यात्रु छन् भन्ने विषयमा अझै विवरण आएको छैन,’ उनले भने । 

महासंघले बेपत्ता तथा क्षतिको विवरण संकलन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा श्री श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरी सदस्य छन् । महासचिव गौतमका अनुसार समितिले शुक्रबारदेखि फिल्डमै पुगेर क्षतिको विवरण संकलन तथा बेपत्ताको खोजी गर्नेछ । बाढीमा परेर पाँच सयभन्दा बढी मालवाहक ट्रक पनि बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । सामान लिन चीन प्रवेश गरेका मात्रै तीन सयहाराहारी ट्रक बाढीमा परेको व्यवसायीहरूले बताएका छन् । यसबाहेक विभिन्न सडकखण्डमा भएका मालवाहक गाडी पनि बेपत्ता भएका छन् । सीमाक्षेत्रमा भन्सार पासकै लागि रोकिएका करिब दुई सय मालवाहक गाडी पनि बेपत्ता भएका छन् । महासंघका महासचिव गौतमले बस र ट्रक गरेर कुल नौ सयभन्दा बढी गाडी बेपत्ता भएको र चार सयभन्दा बढी चालक तथा सहचालक सम्पर्कबाहिर रहेको बताए ।