रसुवागढी नाकाबाट करिब १८ किमि चीनतर्फ ल्हेन्दे खोलाको बहाव थुनिएर ठुलो ताल बनेपछि भोटेकोशीमा फेरि बाढीको जोखिम देखिएको छ । त्यहाँ ११ हेक्टर (करिब ०.११ वर्गकिमि) क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ्दै गएकाले जुनसुकै वेला फुटेर बाढी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद् प्रकाश पोखरेलका अनुसार ल्हेन्दे खोलाको बहाब रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ । ‘बुधबार हिमचट्टान खसेर भोटेकोशीमा बाढी आएको थियो । त्यही हिमपहिरोको अवशेषले ब्लक गरेपछि ताल बनेको हो,’ पोखरेलले भने, ‘स्याटेलाइट तस्बिर विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले ल्हेन्दे खोलाको बहाब रोकिएर ताल बनेको देखाएको हो । ताल निरन्तर बढिरहेको देखिन्छ । पानीको निकास नहुने, तर ताल बढ्दै जाने हो भने फुट्ने खतरा हुन्छ । फुटेमा यसले फेरि ठुलो बाढी निम्त्याउन सक्छ ।’
स्याटेलाइट विश्लेषणबाट तालको सतह क्षेत्रफल ११ हेक्टर देखिए पनि यसको गहिराइ यकिन भएको छैन । जसकारण तालमा कति पानी जम्मा भएको छ भन्ने अहिले नै निर्धारण गर्न सकिएको छैन । ‘उदाहरणका लागि यो तालको गहिराइ पाँच मिटर छ भने ५.५ घनमिटर (५५ करोड लिटर) पानी हुन सक्छ । १० मिटर गहिराइ छ भने ठ्याक्कै दोब्बर हुन्छ,’ पोखरेलले भने, ‘तर, हामीले गहिराइ निर्धारण गर्न सकेका छैनौँ, थप तस्बिर उपलब्ध भएमा विश्लेषण हुनेछ ।’
ग्लोबल टाइम्सले तालमा २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी निस्कन थालिसकेको उल्लेख गरेको छ । चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै लेखिएको समाचारमा आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने र ताल फुट्न सक्ने चेतावनी दिएको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले बुधबारको जस्तो जोखिम नरहे पनि सतर्क रहनुपर्ने देखिएको बताए । ‘चीनबाट आएको सूचनाअनुसार ३० लाख घनमिटर पानी छ भनिएको छ । यो बुधबारको तुलनामा निकै कम हो । बुधबार बाढी आउँदा देवघाट केन्द्रमा प्रतिसेकेन्ड थप दुई करोड घनमिटर पानी बगेको छ । बाढी आउनुअघिको पानीको बहाव सात करोड घनमिटर थियो,’ उनले भने, ‘त्यसैले बुधबारको जस्तो जोखिम नभए पनि भग्नावशेष अवस्थामा रहेकाले सचेत भने रहनुपर्छ ।