भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको क्षति भयावह रहेको सुरक्षा निकायले जनाएको छ । बाढीमा परेका ३९९ जनाको शव भेटिएको छ भने एक हजारभन्दा धेरै व्यक्ति अझै सम्पर्कविहीन छन् । सरकारले हराएकाहरूको अझै लेखाजोखा गर्न सकेको छैन ।
बाढीपछि सम्पर्कविहीन भएका आफन्तको बिहीबार पनि देशैभरबाट उजुरी (सूचना) आएको प्रहरीले जनाएको छ । रसुवा र नुवाकोटमा हराउने विदेशीको संख्या मात्र ६४४ पुगेको छ । बाढीमा बेपत्ता हुने स्थानीयको लेखाजोखा नै छैन । सुरक्षाकर्मी, कर्मचारी तथा जलविद्युत्का गरी करिब तीन सय कर्मचारी सम्पर्कविहीन छन् ।
‘सम्पर्कविहीनहरूको संख्या बढिरहेको छ,’ प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्, ‘तर, कति छन् भनेर यकिन विवरण अझै संकलन भइसकेको छैन । सम्पर्कविहीन भएको भनेर आउने सूचना बढिरहेको छ ।’
अधिकांश नुवाकोट घुम्न गएका तथा नुवाकोट–रसुवा क्षेत्रमा कार्यरत व्यक्तिका आफन्तले सूचना गरेका छन् । बिहीबारसम्म सम्पर्कविहीनहरूको खोजीका लागि एक हजारभन्दा धेरै सूचना प्राप्त भइसकेको प्रहरीले जनाएको छ । सोही क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबारे सुरक्षा निकायले सूचना पाउन सकेका छैनन् । मानसरोवर र गोसाईंकुण्ड घुम्न जाने धेरै टोली बाढीमा परेकाले ठुलो मानवीय क्षति भएको आकलन गरिएको छ ।
चार सयभन्दा धेरै यात्रुबस फेला नपरेको यातायात व्यवसायीले बताएका छन् । त्यस्तै, ठुलो संख्यामा निजी सवारी पनि बाढीमा परेका छन् । ती सवारीसाधनमा रहेका यात्रुको पनि लेखाजोखा छैन । बाढीले करिब २० किलोमिटर पक्की सडक बगाएको छ । ती सडकमा गुडिरेहका गाडीहरू पनि बगाएको सार्वजनिक भएका भिडियोहरूमा देखिन्छ ।
हाइड्रोपावरमा कार्यरत केही कर्मचारीको बिहीबार उद्धार भएको छ । तर, दुई सयभन्दा धेरै अझै सम्पर्कविहीन छन् । ८५ सुरक्षाकर्मीको बिहीबारसम्म पनि केही पत्ता लागेको छैन । भन्सार र अध्यागमनका १९ कर्मचारी पनि सम्पर्कविहीन नै रहेको गृह मन्त्रालयले जनाएको छ । व्यक्तिगत रूपमा रसुवा जाने स्वदेशी पर्यटकको यकिन विवरण अझै संकलन हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले बिहीबार मात्र ८३३ जनाको उद्धार गरेको जनाएको छ । अपर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेकाहरूको पनि उद्धार गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्याफ्रुबेँसीस्थित लाङटाङ हाइड्रोको टनेलमा अझै कतिपय फसेको सूचना आए पनि आवश्यक स्रोतसाधन नहुँदा सुरक्षा निकायले उद्धार गर्न सकेका छैनन् ।
बस र ट्रक गरेर नौ सयभन्दा बढी गाडी बेपत्ता : मानसरोवर जाने यात्रु बोकेका मात्रै ४० गाडी बेपत्ता
बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढीमा परेर चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चार सयभन्दा बढी यात्रुवाहक गाडी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
हालसम्म विभिन्न यातायात कम्पनीबाट २१९ वटा यात्रुवाहक गाडी बेपत्ता भएको विवरण महासंघमा प्राप्त भएको छ । अन्य कम्पनीबाट पनि विवरण आउने क्रम जारी रहेकाले बेपत्ता सवारीसाधनको संख्या अझ बढ्न सक्ने महासंघका महासचिव तथा प्रवक्ता टेकनाथ गौतमले बताए । ‘पर्यटन, तीर्थ र सर्वसाधारण बोकेर हिँडेका चार सयभन्दा बढी गाडी बाढीमा बेपत्ता भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । मानसरोवर जाने तीर्थयात्रु बोकेका मात्रै करिब ४० वटा गाडी बेपत्ता छन् । यसैगरी ६० भन्दा बढी साना माइक्रोबससमेत हराएको प्रारम्भिक विवरण छ । ‘विवरण आउने क्रम जारी छ । भोलिदेखि अझ विस्तृत विवरण आउनेछ,’ महासचिव गौतमले भने । गोसाईंकुण्ड, मानसरोवरसहित रसुवा र नुवाकोटका विभिन्न गन्तव्यतर्फ गइरहेका सवारीसाधन बाढीमा परेका हुन् । उनका अनुसार चार सयभन्दा बढी चालक तथा सहचालकसमेत सम्पर्कविहीन छन् । ती सवारीसाधनमा कति यात्रु थिए भन्ने यकिन विवरण भने अझै आउन सकेको छैन । ‘के–कति यात्रु छन् भन्ने विषयमा अझै विवरण आएको छैन,’ उनले भने ।
महासंघले बेपत्ता तथा क्षतिको विवरण संकलन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा श्री श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरी सदस्य छन् । महासचिव गौतमका अनुसार समितिले शुक्रबारदेखि फिल्डमै पुगेर क्षतिको विवरण संकलन तथा बेपत्ताको खोजी गर्नेछ । बाढीमा परेर पाँच सयभन्दा बढी मालवाहक ट्रक पनि बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । सामान लिन चीन प्रवेश गरेका मात्रै तीन सयहाराहारी ट्रक बाढीमा परेको व्यवसायीहरूले बताएका छन् । यसबाहेक विभिन्न सडकखण्डमा भएका मालवाहक गाडी पनि बेपत्ता भएका छन् । सीमाक्षेत्रमा भन्सार पासकै लागि रोकिएका करिब दुई सय मालवाहक गाडी पनि बेपत्ता भएका छन् । महासंघका महासचिव गौतमले बस र ट्रक गरेर कुल नौ सयभन्दा बढी गाडी बेपत्ता भएको र चार सयभन्दा बढी चालक तथा सहचालक सम्पर्कबाहिर रहेको बताए ।