विनाशकारी महाविपत्तिले यतिवेला देश शोकमा छ । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा जनधनको क्षति पुर्याएको छ । बिहीबार राति नौ बजेसम्मको तथ्यांकअनुसार तीन सय ८९ जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता भएका छन् । यो विपत्को घडीमा बाढी प्रभावितलाई मलम लगाउन निजी क्षेत्रदेखि विभिन्न संघ–संस्थाले दिल खोलेर सहयोग घोषणा गरेका छन् । साथै, उनीहरूले यो विषम परिस्थितिमा आफूहरू प्रभावित परिवार तथा समुदायसँगै रहेको पनि बताएका छन् ।
गोर्खा ब्रुअरीको १० करोड सहयोग
रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन् ।
बिवाइडी–साइमेक्सले सात करोड सहयोग गर्ने
नेपालमा बिवाइडीको आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्रालिसँगको सहकार्यमा बिवाइडीले सात करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिनेछ । यो सहयोगले बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।
ग्लोबल आइएमई बैंकले पाँच करोड सहयोग गर्ने
ग्लोबल आइएमई बैंक लिमिटेडले पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । बैंकले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई तत्काल खाद्यान्न एवं वासस्थानको व्यवस्था मिलाउन तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्याउन पाँच करोड सहयोग गरेको बताएको छ ।
‘भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ,’ बैंकले भनेको छ, ‘नदीको तीव्र बहावले सयौँ नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएका तथा सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ ।
इप्पानको पाँच करोडभन्दा बढी सहयोग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पनि सहयोग रकम घोषणा गरेको छ । इप्पानले इप्पान तथा इप्पानसम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच करोड पाँच लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । संस्थाले सञ्चालनमा रहेका र निर्माणाधीन धेरै विद्युत् आयोजनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका कर्मचारी, नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको पनि कामना पनि गरेको छ ।
कुमारी बैंकद्वारा ३.३९ करोड जम्मा
कुमारी बैंक लिमिटेडले पनि राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन तीन कारेड ३९ लाखबराबरको सहयोग गरेको छ । बैंकका अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ जम्मा गरिएको हो । यस्तै, ३९ लाखबराबरका पाँचवटा अत्याधुनिक एआईजडित निगरानी ड्रोन, तीनवटा पाँच केभिए क्षमताका पोर्टेबल जेनेरेटर तथा एक सयवटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरिएको बताइएको छ । बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन पनि आग्रह गरेको छ ।
गोल्छा ग्रुपमार्फत डेढ करोड
औद्योगिक घराना गोल्छा ग्रुपले पनि बाढीपीडितको घाउमा मलम लगाउन एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ग्रुपले एक करोड ५० लाख सहयोग प्रदान गर्ने बताएका छन् ।
गोल्छाले विपत्तिका वेला निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्ने बताएका छन् । साथै, उनले अझै पनि आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू सँगै रहेको विश्वास दिलाएका छन् । सबैको पहिलो र साझा प्राथमिकता बाढीपीडितको उद्धार तथा राहत व्यवस्थापन हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
एनसेलले गर्यो एक करोड सहयोग घोषणा
दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको र प्रभावित आमसर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको आवश्यकता रहेको महसुस गर्दै सरकारको आह्वानमा सहयोग घोषणा गरेको जनाएको छ ।
कालिका कन्स्ट्रक्सनद्वारा एक करोड सहयोग घोषणा
रसुवा बाढी प्रभावित नागरिकको सहयोगका लागि कालिका कन्स्ट्रक्सन प्रालिले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।
पूर्वमन्त्री एवं कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विक्रम पाण्डेले बाढीपहिरोपीडितको सहयोगार्थ उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराएका हुन् । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कालिका कन्स्ट्रक्सनले जनाएको छ ।
आइएमई लाइफ इन्स्योरेन्सको एक करोड सहयोग
विपत्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार, सुरक्षा निकाय र स्थानीय संघ–संस्थाबाट भइरहेको प्रयासमा आइएमई लाइफ इन्स्योरेन्सले पनि ऐक्यबद्धता जनाएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको हो । साथै, कम्पनीले विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । ‘विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने यो आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनर्स्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास छ,’ कम्पनीले भनेको छ ।
प्रभु महालक्ष्मीको ५१ लाख
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकाउन्न लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गहिरो दुःख व्यक्तसमेत गरेको छ ।
कामना सेवा विकास बैंकले २५ लाख दिने
यसैगरी, कामना सेवा विकास बैंकले पनि सहयोगको हात अगाडि बढाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त सहयोगबाट प्राकृतिक विपत्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
हिमालयन बुलियनद्वारा २१ लाख सहयोग
चाँदी कारोबार गर्ने कम्पनी हिमालयन बुलियनी लिमिटेडले २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताएको हो । कम्पनीले बाढी प्रभावित क्षेत्रमा नागरिकको खोज तथा उद्धार, तत्काल राहत र सहयोगका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धताअनुसार उद्धार कोषमा उक्त रकम प्रदान गर्ने घोषणा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विपत्बाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त पनि गरेको छ ।
ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख
ग्लोबल आइएमई क्यापिटलले पनि बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख सहयोग प्रदान गर्ने घोषणा गरेको हो । यो सहयोगले बेपत्ताहरूको खोजी, घाइतेको उपचार, प्रभावित नागरिकलाई तत्काल खाद्यान्न तथा वासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्संरचनामा सघाउ पुग्ने कम्पनीले विश्वास लिएको छ ।
नाडाद्वारा १० लाख सहयोग घोषणा
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको तत्काल राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नाडाले विपत्को अवस्थामा सरकारसँग सहकार्य गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, देशभरका अटोमोबाइल व्यवसायीलाई समेत एकबद्ध भएर राहत तथा उद्धार अभियानमा सहयोग गर्न आह्वान गरेको छ ।
यस्तै, सहयोग गर्नेमा अन्य संघसंस्था पनि छन् । एक्सट्रिम इनर्जीले एक करोड, नासा सेक्युरिटिजले ५० लाख, नेपाल लेयर्स कुखुरापालक संघले १० लाख रुपैयाँ सहयोग गरेका छन् । साथै, यी संस्थाहरूले विपत्को घडीमा आ–आफ्नो ठाँउबाट सहयोग गर्न पनि आह्वान पनि गरेका छन् ।