मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
२o८३ भदौ १२ शुक्रबार o९:४४:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् र राष्ट्रिय सडक सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क 

त्रिशूलीपारिका नुवाकोट र धादिङका क्षेत्र पनि सडक सञ्जालबाहिर, विद्युतकाे पनि समस्या

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o९:४४:oo

बुधबार भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा जिल्ला बिजुली र सडक सम्पर्कबाट विच्छेद भएको छ । विनाशकारी बाढीले रसुवालाई नुवाकोट, धादिङ हुँदै पृथ्वी राजमार्गसँग जोड्ने ८२ किमि लामो गल्छी–स्याफ्रुबेँसी–रसुवा सडक ध्वस्त भएको छ । बाढीले गल्छी–स्याफ्रुबेँसी–रसुवा सडक ध्वस्त बनाएसँगै हिमाली जिल्ला रसुवाको सडक सम्पर्क टुटेको छ । रसुवालाई अन्य जिल्लासँग जोड्ने यो नै एक मात्रै राजमार्ग हो । तर, ग्रामीण सडक भने केही सञ्चालनमा छन् । अहिले त्यहाँ हेलिकोप्टरबाट मात्रै उद्धार कार्य भइरहेको छ । सडकमार्फत पुग्न असम्भवजस्तै भएको छ । 

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले रसुवा सडक सञ्जाभन्दा बाहिर भएको बताए । ‘रसुवा अहिले सडक सञ्जालभन्दा बाहिर पुगेको छ । बाढीले सडक नमज्जाले क्षतिग्रस्त बनाएको छ,’ उनले भने, ‘त्यसले गर्दा अहिले रसुवा सडक सञ्जालभन्दा बाहिर छ ।’

सडक विभागका अनुसार रसुवा जिल्लामा मात्रै १३ वटा पक्की पुल बाढीले बगाएको छ । नुवाकोटसँग जोडिएका थप तीन पुल पनि बाढीले बगाएको छ । साथै, त्रिशूली नदी–किनारमा रहेको चिनियाँ नाकासँग जोडिने गल्छी–रसुवा सडक पनि नामोनिशान नदेखिने गरी क्षतिग्रस्त भएको छ । त्यसले गर्दा उद्धार कार्य पनि कठिन भइरहेको छ ।

यस्तै, विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले पनि रसुवामा अझै विद्युत् आपूर्ति सुरु नभएको बताए । त्यहाँ विद्युत् आपूर्ति सुरु गर्न वैकल्पिक उपायहरूमा काम भइरहेको उनको भनाइ छ । बाढीले रसुवामा भएका जलविद्युत् आयोजना, प्रसारणलाइन प्रभावित भएपछि विद्युत् आपूर्ति बन्द छ । त्यहाँ ४२ मेगावाटको साञ्जेन जलविद्युत् आयोजना सञ्चालन गरेर विद्युत् आपूर्ति सुरु गर्ने तयारी छ । तर, वितरण तथा प्रसारणलाइन क्षतिग्रस्त हुँदा चुनौती छ । रसुवालाई हाललाई चार मेगावाट विद्युत् चाहिने अनुमान गरिएको छ ।

नुवाकोटका त्रिशूलीपारिका पालिका पनि सडक सम्पर्कबाहिर 
बाढीले प्रभावित हुने जिल्लामा नुवाकोट दोस्रो नम्बरमा छ । काठमाडौं–टोखा–छहरेबाट नुवाकोट जिल्ला सडक सम्पर्कमा छ । तर, गल्छीतर्फबाट नुवाकोटको सडक सम्पर्क टुटेको छ । त्यसैगरी, नुवाकोटका त्रिशूलीपारिका क्षेत्र पनि सडक सञ्जालभन्दा बाहिर पुगेका छन् । नुवाकोटमा १२ वटा पुल बाढीले बगाएको छ । त्यसैगरी, रसुवासँग जोडिएका तीन पुल पनि बाढीले बगाएको छ । त्यसले गर्दा नुवाकोटमा त्रिशूलीपारिका क्षेत्र पनि सडक सम्पर्कभन्दा बाहिर पुगेका छन् । पुल बगाएका कारण त्रिशूली नदी वारिपारि गर्न सकिएको छैन ।

धादिङ सदरमुकाम पनि सडकको सिधा सम्पर्कबाहिर
धादिङको जिल्ला सदरमुकाम ‘धादिङबेँसी’ पनि पृथ्वी राजमार्गको सिधा सम्पर्कबाट बाहिर पुगेको छ । त्रिशूलीमा भएका पुल बगाएपछि सदरमुकाम राष्ट्रिय राजमार्गको सम्पर्कबाहिर रहेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता अनिल पौडेलले जानकारी दिए । यद्यपि, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने उनले बताए । धादिङबेँसीबाट गोरखा–आरुघाट पुगेर बुढीगण्डकी करिडोरमार्फत बेनीघाट झरेर पृथ्वी राजमार्गमा आउन सकिन्छ । तर, सिधा सम्पर्क भने टुटेको छ । पुल बगाएका कारण त्रिशूली नदी वारिपारि गर्न सकिएको छैन ।

रसुवामा ट्रयाक खुलाउनै कठिन हुने 
रसुवालाई सडक सञ्जालसँग जोड्न अब ट्रयाक खुल्नुपर्ने हुन्छ । अहिले बाढीले गल्छी–स्याफ्रुबेँसी–रसुवा सडकको अधिकांश सडक ‘वासआउट’ गरेको भिडियो फुटेज तथा फोटा आइरहेका छन् । तर, सडक विभागको टोली अझै त्यहाँ पुग्न सकेको छैन । यद्यपि, ट्रयाक खुलाउन समय लाग्ने अनुमान विभागले गरेको छ । 

त्यहाँ काम गर्न पनि निकै कठिन भएको सडक विभागका प्रवक्ता शुभराज न्यौपाने बताउँछन् । ‘हामी रसुवाका प्रभावित क्षेत्रमा जान सकेका छैनौँ । ट्रयाक खुल्नेतिर सोच्नै सकिएको छैन । तर, रसुवालाई सडक सञ्जालमा तत्काल जोड्न गाह्रो छ,’ उनले भने, ‘बाढीले सडक नै बगाएको यसअघिको अनुभव बिपी हाइवे हो । जहाँ काम गर्न धेरै सहज थियो । त्यहाँ दुईतिरबाटै काम गर्न सकिएको थियो । निर्माण सामग्री तथा उपकरण लैजान पनि सहज थियो । तर, रसुवाको माथि नै चीन भयो । त्यताबाट काम सुरु गर्ने अवस्था छैन । गल्छीबाटै काम सुरु गर्दै जानुपर्छ । त्यसले गर्दा समय लाग्छ ।’ एकैपटक खण्ड–खण्डमा काम गर्न चुनौती नै हुने देखिएको उनको भनाइ छ ।

सरकारसँग सातवटा मात्रै बेलिब्रिज, भारतले सहयोग गर्ने प्रतिबद्धता
अहिले सडक विभागसँग सातवटा मात्रै बेलिब्रिज स्टकमा छन् । कुनै ठाउँमा पक्की पुल बगाएमा औसत १५ दिनमै बेलिब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गर्न सकिनछ । तर, बाढीले ३० भन्दा बढी पुल बगाउँदा विभागसँग सातवटा मात्रै स्टकमा छन् । त्यसमा पनि ५० मिटरसम्मका मात्रै बेलिब्रिज छन् । अहिले परिस्थितिमा त्यो निकै कम भएको सडक विभागका अधिकारीहरू बताउँछन् । त्रिशूली नदीको हकमा ५० मिटरको बेलिब्रिज काम नलाग्ने पनि उनीहरूको भनाइ छ । ‘अब सडक यातायात खुलाउन पुलको विकल्प त चाहियो । त्यसमा बेलिब्रिज उचित विकल्प हो । तर, ती सातवटा मात्रै छन् । यता पुल भने धेरै बगेका छन्,’ स्रोतले भन्यो, ‘त्यसले केही चुनौती दिने देखिन्छ ।’

यसैबिच भारतले बेलिब्रिज सहयोग गर्ने प्रतिबद्धता गरेको छ । बिहीबार भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाललाई बेलिब्रिज दिने भनेर सञ्चारमाध्यममा बताएका छन् । 

रसुवा तथा नुवाकोटमा विद्युत् आपूर्ति पुनर्स्थापना कार्य जारी : प्राधिकरण
प्राधिकरणले भोटेकोशी बाढीका कारण प्रभावित रसुवा तथा नुवाकोट क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि प्रयास जारी भएको बताएको छ । उपलब्ध वैकल्पिक प्राविधिक उपाय अवलम्बन गरी काम अघि बढाइरहेको प्राधिकरणको भनाइ छ । हालसम्म नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत् आपूर्ति सुरु भएको छ । बालाजु–त्रिशूली तथा चपली–देवीघाट ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गरिएको छ । सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुद्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको छ ।

रसुवामा विद्युत् आपूर्ति सुचारु गर्न सम्भावित सान्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गरी धादिङ फिडरमार्फत त्रिशूली पश्चिम तथा धुन्चे फिडर पुनर्स्थापना गर्ने प्रयास भइरहेको प्राधिकरणको भनाइ छ । अत्यावश्यक स्थानमा विद्युत् आपूर्ति उपलब्ध गराउन तीन थान डिजेल जेनेरेटर त्रिशूली पठाइएको छ । यसैगरी, सरकारले पनि विभिन्न ठाउँमा सोलार पावर आपूर्ति गरिरहेको छ ।