उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले करिब तीन दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा भइरहेको परीक्षण उत्पादनको स्थलगत निरीक्षण गरेकी छन्।शनिबार उद्योग पुगेकी मन्त्री यादवले उद्योगको पुनः सञ्चालनका लागि भइरहेको मर्मत तथा उत्पादन प्रक्रियाबारे जानकारी लिँदै सरकार उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताएकी छन्।
निरीक्षणका क्रममा नेपाली सेनाका प्राविधिक टोलीले उद्योगको वर्तमान अवस्था, मेसिन मर्मत, परीक्षण उत्पादन र आगामी योजनाबारे मन्त्री यादवलाई जानकारी गराएका थिए । सरकारले उद्योगको पुनः सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि उद्योगमा मर्मत तथा उत्पादनको काम तीव्र रूपमा अघि बढिरहेको छ।हाल उद्योगका १० वटा लुम सञ्चालनमा रहेर कपडा उत्पादन भइरहेको छ भने थप चार वटा लुम उत्पादनका लागि तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ । साथै, नियमित रूपमा मेसिन मर्मत तथा स्तरोन्नतिको काम पनि जारी छ।
सञ्चालनमा रहेका १० वटा लुममध्ये तीन वटालाई आधुनिक अटोमेटिक प्रणालीमा रूपान्तरण गरिएको छ। बाँकी मेसिनहरू पनि मर्मत सम्पन्न भएपछि सञ्चालनमा ल्याउने र सम्भव भएसम्म अटोमेटिक प्रणालीमा रूपान्तरण गरिने उद्योगमा खटिएका प्राविधिकहरूले बताएका छन् ।उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक खटिएका छन्। उनीहरूले पुराना उपकरणको मर्मत, परीक्षण उत्पादन तथा उत्पादन प्रणालीलाई व्यवस्थित बनाउने काम गरिरहेका छन्।निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले बन्द भएको करिब ३० वर्षपछि पुनः कपडा उत्पादन हुन थालेको अवस्थालाई उत्साहजनक उपलब्धिको रूपमा चित्रण गरिन्।
‘लामो समय बन्द रहेको उद्योगबाट फेरि कपडा उत्पादन हुन थालेको देख्दा निकै खुसी लागेको छ,’ मन्त्री यादवले भनिन्, ‘अब क्रमिक रूपमा सबै मेसिन मर्मत गर्दै उत्पादन क्षमता विस्तार गरिनेछ।सरकारले उद्योगलाई छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।’मन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको दीर्घकालीन व्यवस्थापनमा पनि सरकार केन्द्रित रहेको बताइन्। केही दिनअघि मात्रै कपडा उद्योगका लागि आवश्यक कपास खेती विस्तार गर्न किसानलाई आह्वान गरिएको स्मरण गराउँदै उनले स्वदेशमै कच्चा पदार्थ उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।‘यदि जनताको साथ र सहकार्य प्राप्त भयो भने हेटौँडा कपडा उद्योग मात्र होइन, देशभर बन्द अवस्थामा रहेका अन्य सरकारी उद्योगहरू पनि पुनः सञ्चालन गर्न सकिन्छ,’ उनले भनिन् ।
एक समय नेपालकै प्रमुख सरकारी औद्योगिक प्रतिष्ठानमध्ये रहेको हेटौँडा कपडा उद्योगले विगतमा सुती धागो, कोरा, रंगीन तथा बुट्टेदार कपडासँगै नेपाली सेनाका लागि आवश्यक कपडासमेत उत्पादन गर्दै आएको थियो। उद्योग सञ्चालनका क्रममा करिब १,२०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । तर राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी, लगातारको घाटा र बन्द–हडतालका कारण उद्योग २०५७ सालमा बन्द भएको थियो । त्यसयता लामो समय निष्क्रिय रहेको उद्योगलाई पुनर्जीवन दिने प्रयास अहिले निर्णायक चरणमा पुगेको छ ।