मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २ मंगलबार
  • Tuesday, 18 August, 2026
रेशमबहादुर खड्का जाजरकोट
२o८३ भदौ २ मंगलबार १७:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोटका पहिरो विस्थापित सेल्टरमा फैलियो ज्वरो र रुघाखोकी

Read Time : > 1 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८३ भदौ २ मंगलबार १७:११:oo

जाजरकोटको भेरी नगरपालिकाका वडा नं २ र ३ का विद्यालयमा आश्रय लिएर बसेका पहिरोबाट विस्थापित नागरिकमा ज्वरो र रुघाखोकी देखिन थालेको छ। पहिरोका कारण घरबारविहीन भई विद्यालयमा आश्रय लिइरहेका ६९१ जनामध्ये केहीमा स्वास्थ्य समस्या देखिएको हो।

विस्थापित सेल्टरमा ज्वरो र रुघाखोकी फैलिन थालेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। मंगलबार स्थलगत अनुगमनमा गएका प्रजिअ अधिकारीले प्रभावितहरु बिरामी पर्न थालेको बताए। सोमबार भेरी नगरपालिका र कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबार ९० जना विस्थापितको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए। 

भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक वलीले सेल्टरमा बस्दै आएका नागरिकमा पछिल्ला दिनमा ज्वरो र रुघाखोकीका लक्षण देखिन थालेका बताए। वर्षाका कारण खानेपानीका अधिकांश स्रोत प्रदूषित भएकाले सेल्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नु प्रमुख चुनौती बनेको उनको भनाइ छ।

‘मानिसहरूमा ज्वरो र रुघाखोकी देखिन थालेको छ। विस्थापित सेल्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नु ठूलो चुनौती बनेको छ,’ उनले भने, ‘वर्षाका कारण लगभग सबै खानेपानीका स्रोत प्रदूषित भएका छन् र धेरै मानिस अस्थायी सेल्टरमा आश्रय लिएर बसिरहेका छन्।’

भेरी नगरपालिकाका वडा नं १, २, ३ र ४ का बस्तीमा ठूलो क्षति पुग्ने गरी गएको पहिरोमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। पहिरोका कारण सयौँ नागरिक विस्थापित भएर विद्यालय तथा अन्य सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन्।

सेल्टरमा वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा सुत्केरी आमासमेत रहेकाले पानीजन्य तथा कीटजन्य रोगको संक्रमण फैलिन सक्ने जोखिम उच्च रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। 

नगरपालिकाका स्वास्थ्यकर्मीहरूले सेल्टरमा स्वास्थ्य डेस्क स्थापना गरी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिरहेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। तर ठूलो संख्यामा विस्थापित नागरिक एकै ठाउँमा बस्नुपर्ने अवस्था रहेकाले स्वास्थ्य डेस्कबाट मात्र सबै स्वास्थ्य समस्या सम्बोधन गर्न कठिन भएको उनको भनाइ छ।