मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २१ बिहीबार
  • Friday, 07 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २१ बिहीबार १७:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै, ‘नेपाल इ–एटेस्टेसन सिस्टम’ शुभारम्भ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २१ बिहीबार १७:o४:oo

परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल इ–एटेस्टेसन सिस्टमको औपचारिक शुभारम्भ गरेको छ। नयाँ प्रणालीमार्फत अब सेवाग्राहीले संसारको जुनसुकै स्थानबाट कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन, आवेदनको अवस्था हेर्न, राजस्व तिर्न तथा प्रमाणीकरणका लागि अनलाइनबाटै अपोइन्टमेन्ट लिन सक्नेछन्। यो सेवा भदौ १ गतेबाट सञ्चालनमा आउनेछ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित शुभारम्भ समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवालाई थप सहज, सरल, पारदर्शी र प्रभावकारी बनाउने सरकारको प्रतिबद्धताअनुसार डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको बताए।

‘मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा अत्यन्त खुशी लागेको छ। यसले परराष्ट्र मन्त्रालयको समग्र सेवाप्रवाहलाई उदाहरणीय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने। मन्त्री खनालले सरकारले ‘डिजिटल नेपाल’ र सुशासनको अवधारणालाई प्राथमिकतामा राख्दै सार्वजनिक सेवालाई क्रमशः डिजिटल माध्यमबाट उपलब्ध गराउने नीति अवलम्बन गरिरहेको उल्लेख गर्दै नेपाल इ–एटेस्टेसन सिस्टम त्यसै नीतिको व्यावहारिक कार्यान्वयन भएको बताए।

उनका अनुसार विश्वव्यापीकरणसँगै अध्ययन, अनुसन्धान, रोजगारी, व्यवसाय तथा बसाइँसराइका कारण विदेश जाने नेपालीको संख्या निरन्तर बढ्दै गएको छ। त्यससँगै विदेशमा प्रयोग हुने कागजातको प्रमाणीकरणको आवश्यकता पनि उल्लेखनीय रूपमा बढेको छ। परराष्ट्रमन्त्री खनालले आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ लाख १२ हजार ५९३ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ प्राप्त गरेको तथा वार्षिक करिब चार लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने गरेको तथ्य प्रस्तुत गर्दै कन्सुलर सेवाको माग तीव्र गतिमा विस्तार भइरहेको बताए।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार सार्वजनिक कागजातलाई कानुनी मान्यता दिन अपोस्टाइल, नोटराइजेसन र एटेस्टेसन प्रणाली प्रयोग हुने उल्लेख गर्दै उनले नेपालमा एटेस्टेसन तथा नोटराइजेसन दुवै व्यवस्था रहेको जानकारी दिए।

मन्त्री खनालले परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेका कागजातलाई सबै मित्रराष्ट्रहरूले मान्यता दिने भएकाले कन्सुलर सेवा विभागमा प्रमाणीकरणको चाप निरन्तर बढ्दै गएको बताए। सोही अवस्थालाई मध्यनजर गर्दै विभागले अनलाइन प्रणाली विकाससँगै सरकारी निकायबाट जारी हुने सार्वजनिक कागजातको भाषा र ढाँचामा एकरूपता ल्याउन ‘स्ट्यान्डर्ड फर्म्याट’ तयार गरी सम्बन्धित निकायमा पठाउने कामसमेत अघि बढाएको जानकारी दिए।

नयाँ प्रणालीबाट सेवाग्राहीले संसारको जुनसुकै स्थानबाट अनलाइन आवेदन दिन सक्ने, आवेदनको अवस्थाबारे जानकारी लिन सक्ने तथा आवेदन स्वीकृत भएपछि अनलाइनबाटै राजस्व भुक्तानी गरी आफूलाई उपयुक्त मिति र समय छनोट गरेर विभागमा उपस्थित हुन सक्ने व्यवस्था गरिएको छ। मन्त्री खनालले आगामी चरणमा हुलाक सेवा विभागसँग सहकार्य गरी प्रमाणीकरण भएका कागजात सेवाग्राहीको घरसम्म पुर्‍याउने लक्ष्य पनि मन्त्रालयले राखेको जानकारी दिए।