देशभरका किसानले मल अभावबिच ९२.५७ प्रतिशत रोपाइँ सकेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार सुदूरपश्चिममा रोपाइँ सकिएको छ । सुदूरपश्चिममा ९९.७९ प्रतिशत रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । त्यस्तै, बागमती प्रदेशमा पनि ९६.१२ प्रतिशत रोपाइँ सकिएको छ । पछिल्लो समय नियमित रूपले मनसुन भइरहेका कारण किसान रोपाइँमा व्यस्त भएका हुन् । विभागका अनुसार कोशीमा ८६.९७ प्रतिशत, मधेशमा ९०.७२ प्रतिशत, गण्डकीमा ९२.१३ प्रतिशत, लुम्बिनीमा ९४.८३ प्रतिशत र कर्णालीमा ९८.८ प्रतिशत रोपाइँ सकिएको छ ।
विभागका अनुसार केशीमा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा हालसम्म दुई लाख ४० हजार तीन सय ७६ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, मधेशमा तीन लाख ८५ हजार नौ सय ३३ हेक्टरमध्ये तीन लाख ५० हजार एक सय १८ हेक्टरमा रोपाइँ सकिएको छ । बागमतीमा एक लाख १४ हजार पाँच सय २४ हेक्टरमध्ये एक लाख १० हजार ७७ हेक्टरमा, गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ८६ हजार दुई सय ४० हेक्टर, लुम्बिनीमा तीन लाख एक हजार तीन सय ७२ हेक्टरमध्ये दुई लाख ८५ हजार सात सय ८७ हेक्टरमा रोपाइँ सकिएको छ ।
त्यसैगरी, कर्णालीमा ४३ हजार दुई सय ९० हेक्टरमध्ये ४१ हजार ४० हेक्टर र सुदूरपश्चिममा एक लाख ५४ हजार नौ सय ५० हेक्टरमध्ये एक लाख ५४ हजार ६ सय २९ हेक्टरमा रोपाइँ सकिएको विभागले जनाएको छ । देशभर १३ लाख ७० हजार ६२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा हालसम्म १२ लाख ६८ हजार दुई सय ७० हेक्टरमा रोपाइँ सकिएको छ । विभागअनुसार गत वर्ष यही समयमा भने ८३.९३ प्रतिशत रोपाइँ सकिएको थियो ।