लगातारको अविरल वर्षाका कारण देशकै मुख्य राजमार्गमध्ये एक नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ। विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै भारी वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो गएको र थप पहिरो खस्ने उच्च जोखिम कायम रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै पूर्ण रूपमा सवारी सञ्चालन बन्द गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मौसममा सुधार नआएसम्म तथा सडक सुरक्षित नभएसम्म कुनै पनि सवारी सञ्चालन गर्न नदिइने बताए। उनका अनुसार अहिलेको प्राथमिकता यात्रुको ज्यानको सुरक्षा भएकाले जोखिम मोलेर यात्रा नगर्न सबैलाई आग्रह गरिएको छ।
प्रशासनले विशेष गरी काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ। त्यस्तै, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) लगायत पश्चिमी जिल्लाबाट काठमाडौंतर्फ आउने यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न आग्रह गरिएको छ। सडक खुल्ने निश्चित समय तय नभएकाले अनावश्यक यात्रा नगर्न प्रशासनले सचेत गराएको छ।
यात्रुलाई तयारीसाथ मात्रै यात्रा गर्न आग्रह
जिल्ला प्रशासन कार्यालयले सडक सञ्चालन सहज भएपछि पनि आवश्यक तयारीविनै यात्रा नगर्न यात्रुलाई सुझाव दिएको छ। लामो दूरीको यात्रा गर्दा झोलामा खानेपानी, प्राथमिक उपचारका लागि आवश्यक औषधि, एक–दुई सेट कपडा तथा मोबाइल चार्जर अनिवार्य रूपमा राख्न प्रशासनले आग्रह गरेको छ।
अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सुरक्षा निकायसँग सम्पर्क गरी मात्रै यात्रा गर्न पनि अनुरोध गरिएको छ। सम्भावित विपद्का वेला उद्धार तथा सहजीकरणका लागि प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना तयारी अवस्थामा राखिएको जनाइएको छ।
लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसिरहेको छ। यसअघि तुइनखोला क्षेत्रमा माथिबाट ढुंगा झर्ने र सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरो आएपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय भरतपुरले डोजरसहितका उपकरण घटनास्थलमा परिचालन गरे पनि निरन्तर वर्षा र पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको जनाएको छ।
सडक अवरुद्ध भएसँगै सयौँ यात्रुवाहक बस, मालवाहक ट्रक तथा निजी सवारी विभिन्न स्थानमा रोकिएका छन्। सडक खुलाउने प्रयास जारी रहे पनि मौसममा सुधार नआएसम्म काम गर्न जोखिमपूर्ण रहेको सम्बन्धित निकायले जनाएको छ।