सिराहाको गोलबजार नगरपालिका- ७ स्थित पुरानो चाेक चोहर्वाको पशु हाटबजार परिसरमा बाटोमा हाल्न माटो खनेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
कवाडी संकलनको काम गर्दै आएका अवास शेखका छोरीहररू १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया रुविना खातुन र छोरा ८ वर्षीय साफुल शेखको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । रौतहट जिल्लाको झिंगहर्वा- २ स्थायी घर भई गोलबजार- ७ मा लामो समयदेखि डेरा गरी बस्दै आएका शेखका पाँच सन्तानमध्ये तीनजना छोराछोरी आइतबार दिउँसो करिब अढाइ बजे घरबाट खेल्न निस्किएको जनाइएको छ।
डेरानजिकै रहेको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा उनीहरू डुबेको स्थानीय मनोज महतोले जानकारी दिए। बालबालिका डुबेको हल्ला भएपछि जम्मा भएका स्थानीयले उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा पुर्याएको भए पनि तीनैजनालाई मृत घोषणा गरेको थियो। प्रहरीले खाल्डोमा अझै बालबालिका डुबेको हुन सक्ने आशंकामा दमकलको सहयोगमा उक्त खाल्डोको पानी फालेको थियो।
बालबालिकाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदाउमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बाटोमा हाल्ने माटो खन्ने क्रममा स्थानीयले नखन्न अनुरोध गरे पनि निर्माण उपभोक्ता समितिले नमानेको स्थानीय बताउँछन्।
स्थानीयले जनप्रतिनिधिको आडमा जथाभावी माटो खन्ने र उपयोग नै नहुने ठाउँमा बाटो बनाउँदा तीन बालबालिकाको अनाहकमा ज्यान गएको स्थानीयको आरोप छ।