नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर र बदनाम गर्ने गतिविधिहरू निरन्तर चलिरहेको बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिबिच कार्यगत एकता हुनुपर्नेमा जोड दिए।
पञ्चायत ढाल्न वामपन्थी र नेपाली कांग्रेस मिलेका उल्लेख गर्दै उनले भने, ‘यहाँ प्रतिगमन गरेर हैरान छ, कताबाट समाजवादी निर्माण गर्नु। यति वेला यो प्रतिगमनलाई पराजित गर्नुपर्छ। सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर कार्यगत एकताका माध्यमबाट जानुपर्छ।’
विश्वभर हिंसात्मक गतिविधिबाट लोकप्रियतावादी व्यवस्था ल्याउने र लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउने सिलसिला निरन्तर रूपमा जारी रहेको अध्यक्ष ओलीको भनाइ छ।