१२ काे नतिजा प्रकाशनमा हतार गरिएको होइन, प्रक्रियागत सुधारले मात्रै छिटो आएको हो : शिक्षामन्त्री पोखरेल

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

 शिक्षामन्त्री सस्मित पोखरेलले यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन प्रक्रियाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै नतिजा छिटो प्रकाशित गर्नका लागि कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको स्पष्ट पारेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष सम्बन्धित स्थानमै समपरीक्षण गर्न सकिने व्यवस्था मिलाइएकाले समय बचत भएको बताए। यसले काठमाडौं ल्याउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ।

उनले उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकी राख्ने अभ्यास अन्त्य गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको उल्लेख गरे। ‘यसको अर्थ कसैलाई हतार-हतार उत्तरपुस्तिका जाँच गर्न लगाइएको होइन,’ उनले स्पष्ट पारे। मन्त्री पोखरेलका अनुसार परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतको तुलनामा बढी जनशक्ति परिचालन गरिएको छ। साथै, अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिई काम अघि बढाइएकाले नतिजा समयमै प्रकाशित गर्न सम्भव भएको हो।

परीक्षा शुल्क वृद्धि सम्बन्धमा पनि उनले प्रस्ट्याउँदै उक्त निर्णय वर्तमान सरकारले नगरेको बताए। उनका अनुसार शुल्क वृद्धि गत वर्षको पूरक परीक्षादेखि नै लागू भइसकेको थियो र यस सम्बन्धमा वर्तमान सरकारले कुनै नयाँ निर्णय गरेको छैन। ‘यस वर्ष नतिजा असामान्य रूपमा छिटो आएको होइन, विगतमा नतिजा अनावश्यक रूपमा ढिलो आउने अवस्था सुधारिएको हो,’ मन्त्री पोखरेलले भने। उनले नतिजा प्रकाशित हुनुपर्ने उचित समयमै सार्वजनिक गरिएको दाबी गरे।

मन्त्री पोखरेलले पुनः उत्तरपुस्तिका जाँचमा कुनै हतार नगरिएको उल्लेख गर्दै आवश्यक जनशक्ति वृद्धि, समपरीक्षणको विकेन्द्रीकरण, उत्तरपुस्तिका रोकिराख्ने अभ्यासको अन्त्य तथा समयमै परीक्षण प्रक्रिया सुरु गरिएकाले काम प्रभावकारी बनेको बताए। उनले गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्यले पनि परीक्षा व्यवस्थापन र नतिजा प्रक्रियामा सुधार भएको संकेत गर्ने बताए।

सुझावित समाचार