झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका– ४ का वडाध्यक्षसहित चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका– ४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका वडासचिव राजेशकुमार कहार, तत्कालीन कार्यालय सहायक मीना चौधरी तथा राजपुर गाउँपालिका– ४ निवासी आलम जोल्हा रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली नागरिक आलम जोल्हालाई दाङको राजपुर गाउँपालिका– ४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानुनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा उनीहरूको संलग्नता रहेको खुलेको छ।
अनुसन्धानका क्रममा झुट्टा विवरण तथा कागजातको आधारमा नागरिकता सिफारिस र प्रमाणीकरण प्रक्रियामा अनियमितता भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अगाडि बढाएको जनाएको छ।