संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी सुझाव संकलन गरेको छ। नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ पूर्वराष्ट्रपतिहरूबाट मार्गदर्शक सुझाव संकलन गरेको बताइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वको कार्यदलले डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई छलफल गरेको हो।
सो क्रममा पूर्वराष्ट्रपति डा. यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्र बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिए। नेपाली जनताको निकै ठुलो संघर्ष, अनवरत बलिदान र संविधानसभाको समय थपेर गहन छलफलका बिच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्नेमा उनको जोड थियो।
2026-06-04-07-20-20.jpeg)
यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले संविधान आफैँमा एउटा राजनीतिक सम्झौताको दस्ताबेज भएकाले यसको संशोधन गर्दा पनि बृहत् राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नु आवश्यक रहेको औँल्याइन्।
हालको समानुपातिक प्रणाली इमानदार र क्षमतावान् कार्यकर्ताका लागि हुनुपर्नेमा यसको दुरुपयोग बढेको र यसले ठुला दलहरूलाई बदनाम गराएकाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाहरूको संख्या स्पष्ट रूपमा निर्धारण गरिनुपर्ने उनको सुझाव थियो।