प्रशासकीय अधिकृत, इन्जिनियर र लेखापालसहित ६ जनालाई ३/३ महिना कैद

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

खेलमैदान निर्माणमा अनियमितता भएको ठहर गर्दै विशेष अदालतले गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित ६ जनालाई दोषी ठहर गरेको छ। बझाङको बित्थडचिर गाउँपलिका- १ मा बित्थड खेलमैदान निर्माणमा १४ लाख ६६ हजार पाँच सय तीन रुपैयाँ अनियमितता भएको अदालतले ठहर गरेको हो। 

विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तत्कालीन प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सबइन्जिनियिर गणेशराज उपाध्याय, लेखा अधिकृत हर्कदेव जोशी तथा खेलमैदान उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रकुमार बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई दोषी ठहर गरेको हो। उनीहरूलाई जनही ३/३ महिना कैद र २ लाख ४४ हजार चार सय १४ रुपैयाँका दरले जरिवाना सजायको फैसला भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीले जानकारी दिए। 

सो खेलमैदान निर्माणका लागि खेलकुद मन्त्रालयबाट ५० लाख तथा सांसद विकास कोषबाट १५ लाख रुपैयाँ विनियोजन भएको थियो। एउटै काम गरेर दोहोरो भुक्तानी दिएको पुष्टि भएपछि अदाललते उनीहरूलाई दोषी ठहर गरेको थियो। अनियमिता भने २०७६ सालको हो। खेलमैदान निर्माणमा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुगमन गरी छानबिन गरेर गत पुसमा मुद्दा दायर गरेको थियो। 

सुझावित समाचार