नेपाल घुम्न आएका विदेशी पर्यटकको उद्धारपछि उपचार गरेको भन्दै नक्कली कागजात बनाई बिमा रकम ठगी गर्ने १० जनाविरुद्ध एक लाखदेखि ३० लाख रुपैयाँसम्मको धरौटी माग गरिएको छ । फरार २२ जनाको हकमा भने पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंमा बिहीबार थुनछेक बहस भएको थियो । अदालतले पक्राउ परेकामध्ये मुक्ति पाण्डे, जयराम रिमाल, सुवास केसी र रवीन्द्र अधिकारीको हकमा ३०–३० लाख रुपैयाँ धरौटी रकम माग गरेको छ । त्यस्तै, डा. गीर्वाणराज तिमल्सिना, विवेक पाण्डे, सन्तोष अधिकारी भनिने खेमराज अधिकारी, पासाङ शेर्पा र सन्दीप तिवारीको हकमा पाँच–पाँच लाख र विवेकराज थपलियालाई एक लाख रुपैयाँ धरौटी माग गरेको छ ।
जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार तीर्थराज भट्टराईले फेक रेस्क्यु प्रकरणमा १० जनाविरुद्ध धरौटी खुलेको र बाँकीको हकमा पक्राउ पुर्जी जारी भएको बताए । ‘फेक रेस्क्यु घटनामा संलग्न १० जनाविरुद्ध धरौटी खुलेको छ । बाँकीको हकमा पक्राउ पुर्जी जारी भएको छ । फरार रहेकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो,’ उनले भने ।
धरौटी माग गरिएकामध्ये रिमाल र पाण्डे माउन्टेन रेस्क्यु सर्भिस प्रालिका मालिक र म्यानेजर हुन् । अधिकारी नेपाल चार्टर सर्भिस प्रालिका मालिक र थपलिया म्यानेजर हुन् । पाण्डे र केसी एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका मालिक हुन् । डा. तिमल्सिना श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक हुन् । शेर्पा प्यानरोमा हिमालय टे«किङ एन्ड एक्सपेडिसनका सञ्चालक र तिवारी रोयल होलिडेज एडभेन्चर्ससँग आबद्ध छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेक रेस्क्यु प्रकरणको अनुसन्धान गरेको थियो । सिआइबीले घटनाका मुख्य मतियार हवाईविज्ञ राजेन्द्रबहादुर सिंहसहित ३३ जनाविरुद्ध संगठितसहित राज्यविरुद्धको अपराध कसुरमा मुद्दा चलाउनुपर्ने राय सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । तर, कार्यालयले सिंहलाई हटाएर ३२ जनाविरुद्ध मात्रै मुद्दा चलाएको थियो । गत ८ चैतमा दर्ता मुद्दामा बिहीबार थुनछेक बहस सकिएको थियो ।
अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार उनीहरूविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ मूल्यबराबरको धनमाल जफत गर्ने भनिएको छ । त्यसमध्ये एक अर्ब १० करोड २९ लाख १० हजार ४०३ रुपैयाँ नेपाली रहेको छ । बाँकी २९ लाख ९८ हजार ८१८ अमेरिकी डलर र १४ हजार ५०० युरो छ । जसको नेपाली रुपैयाँ करिब ४० करोड ७० लाख ८९ हजार ५९७ रुपैयाँ हुन आउँछ ।
सिआइबीका अनुसार पक्राउ परेकाले सन् २०२२ यता मात्रै नक्कली कागजातका आधारमा झन्डै दुई अर्ब ८५ करोड ६२ लाख ५० हजार १६५ रुपैयाँ बिमा दाबी गरेको थिए । सन् ०२२ यता माउन्टेन रेस्क्युले मात्रै एक हजार २४८ विदेशी पर्यटकको रेस्क्यु गरेको तथ्यांक छ । जसमध्ये १७१ पर्यटकको रेस्क्यु नक्कली रहेको देखिन्छ । अर्थात् १६ करोड ७३ लाख १८ हजार २५५ रुपैयाँ रकम माग गरेको छ ।