प्रधानमन्त्रीले गरिन् निगौल गाई गौशालाको निरीक्षण

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले गौशाला नगरपालिका- ३, नवराजपुरस्थित निगौल गाई गौशाला निरिक्षण गरेकी छिन्। गाईहरूको भोकले भएको दुरावस्थाबारे बोल्दै उनले उपस्थित सबैलाई गौरक्षाको लागि आग्रह गरिन्। मानवमा जस्तै भाव र ज्यान पशुमा भएकोले पशुलाई जसरी भए पनि खानाबाट वञ्चित नगर्न उनको आग्रह थियो। उनले निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका कार्यालय प्रमुखसहित सरोकारवालालाई गाईको अवस्थाबारे चिन्ता व्यक्त गर्दै गौै संरक्षण र व्यवस्थापन राम्रो बनाउन निर्देशन दिइन्। उनले सोही निर्देशनात्मक आग्रह जनप्रतिनिधिहरूलाई समेत गरिन्। 

गौशालाको करिब दुई सय बिघा जग्गा रहेकोमा सोमध्ये धेरै जग्गा किनबेच भएको र धेरै जग्गा अतिक्रमणसमेत भएको स्थानीयहरूले प्रधानमन्त्रीलाई गुनासो पोखेका थिए। यसै सन्दर्भमा उनले गौशालाको जग्गा अतिक्रमण मुक्त गराउनसमेत आवश्यक निर्देशन दिएकी हुन्।

सात महिनादेखि तलब पाएका छैनन् गोठालाले 
निगौल गाई गौशालाको दुई स्थानमा रहेको गौशालामा करिब २५-२६ गोठाला छन् । तर, सबैले सात महिनादेखि तलब खान पाएका छैनन् । निगौल गाई गौशालामा कार्यरत गोठाला धीरेन्द्र यादवले आफूहरूलाई घरपरिवार चलाउनै कठिन भएको भन्दै तलब मगाइदिन आग्रह गरे। उनले नवराजपुरस्थित गोठमा ८० देखि ८५ गाई र गौशालास्थित मुख्य गोठमा करिब एक सय ५० जति गाई रहेकोमा ती सबै गाईको रेखदेख गर्ने गोठालासमेत भोकै बस्नुपरेको पीडा पोखे ।

स्थानीयहरूको चरम असन्तुष्टि 
निगौल गाई गौशालामा गाईलाई खाने व्यवस्थापन नरहेको र गाईकै नाममा कर्मचारीलगायत केही नेताहरूले गाई गौशालालाई कमाउने भाँडोको रूपमा प्रयोग गरेको जनआक्रोश छ। स्थानीय जितेन्द्र महतोले गाईहरू खाना खान नपाएर मरिरहेको बताए। उनले भित्रका सामानहरूसमेत चोरी भइरहेको बताउँदै गाई गौशालाको कार्यालयमा चरम  भ्रष्टाचार रहेको बताए। उनले दुईवटै गौशालामा चरम लापरबाही रहेकोमा यसको जाँचबुझ हुनुपर्ने बताए। 
 
 

सुझावित समाचार