बाबुराम भट्टराई नेतृत्वको प्रलोपाले गोरखामा कांग्रेसलाई सहयोग गर्ने

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

प्रगतिशील लोकतान्त्रिक पार्टीले (प्रलोपा) ले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा जिल्लामा नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखाको दुवै क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको हो।

प्रलोपाको तर्फबाट २१ फागुनको निर्वाचनका लागि गोरखा १ बाट गोपालबाबु श्रेष्ठ र २ बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गरेकोमा दुवैजनाले ९ माघमा आ– आफ्नो उम्मेदवारी फिर्ता  लिएका थिए। दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि प्रलोपाले कसलाई सहयोग गर्छ भन्ने विषयमा सबैले चासो दिइरहेका वेला निर्वाचनको मिति नजिकिएसँगै कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो।

आफ्नो पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेससँगै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेकोमा कांग्रेसलाई सहयोग गर्ने निर्णय प्रलोपाले गरेको हो। गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रभाव राम्रो रहेकाले उम्मेदवारको जित-हारमा समेत प्रलोपालाई निर्णायक मानिएको छ। 

गोरखा १ मा कांग्रेसका प्रेमकुमार खत्री, एमालेका रामचन्द्र लामिछाने, नेकपाका हरिराज अधिकारी, रास्वपाका सुधन गुरुङलगायत १२ जना उम्मेदवार रहेका छन्। यसैगरी, गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ (मिलन चक्रे), नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका कवीन्द्र बुर्लाकोटीलगायत १३ जना उम्मेदवार रहेका छन्। प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले दुई पार्टीका नेताको छलफलपछि प्रत्यक्षमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए। समानुपातिकमा भने आफ्नै पार्टीको निर्वाचन चिन्हमा मतदान गर्ने निर्णय पार्टीले गरेको खत्रीले बताए।

See More On

सुझावित समाचार