नजिकबाट मधेश पढ्न र बुझ्न म आएको हुँ : कांग्रेस सभापति थापा

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन् । सोमबार सर्लाही निर्वाचन क्षेत्र नम्बर–४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेश पढ्न र बुझन आएको बताए । सिमरा विमानस्थलबाट ओर्लेपछि ठाउँ ठाउँमा मधेशका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई निकै उत्साहित बनाएको सभापति थापाले बताए । 

आफू नेपाली कांग्रेसको कार्यकर्ता भएको हैसियतले मधेशले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुण आफूले पढेर जानेको उनको भनाइ थियो। केही समय पहिलासम्म सिराहा, सप्तरी, सर्लाहीबाट शिक्षक नगए पहाडी क्षेत्रमा गणित र विज्ञान पढाउने शिक्षक नहुने अवस्थाबाट मधेशमा कसरी शिक्षाको अवस्था यस्तो भयो भनेर प्रश्नसमेत गरे । यस पहिला आफूले मधेशको प्रश्न मात्र बुझेको भन्दै उहाँले यसपटक जवाफ खोज्नेसमेत दाबी गरे ।

‘आफू मधेश पढ्न र सिक्न आएको हो। अब म यहाँको भाषा, रहनसहन, भेषभुषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु। केही नेता साथीहरूले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिन भन्नुभएको थियो।’ उहाँले भन्नुभयो, ‘म दुई दिनको चटक देखाउन आएको हैन। त्यसैले सबै सिक्छु अनि मात्रै बोल्छु, कसैले लेखेको लाइन म बोल्दिनँ भनिदिए।’ सभापति थापाले यहाँका कुनै मतदाताले आफूलाई मत दिएर पछुतो मान्नुपर्ने अवस्था नआउने दाबी गरे। 

हचुवाको भरमा आफ्ना क्षेत्रका मतदातालाई आश्वासन नबढ्ने भन्दै उनले आफ्ना विज्ञसमूह क्षेत्रको वस्तुस्थिति बुझ्ने कार्यमा खटिएको बताए। उक्त टिमले दिएको रिपोर्टअनुसार यहाँका जनताको लागि प्रतिबद्धता जाहेर गर्ने उनको भनाइ थियो। आफूले हुलाकी राजमार्गको यात्रा गर्दैगर्दा मधेशमा प्रशस्त सम्भावना देखेको भन्दै, यति धेरै सम्भावना भएका ठाउँहरूका नागरिक बेरोजगारी समस्यामा किन विदेशिन बाध्य छन्, भनेर थाहा पाएको सभापति थापाको भनाइ छ। 

काठमाडौं–४ नम्बर क्षेत्रबाट प्रतिनिधि भएर मधेशका सवालहरू संसदमा धेरैपटक उठाएको भन्दै उहाँले यसपटक मधेश र मधेशका सवाल नजिकबाट बुझ्न यहाँबाट उम्मेदवारी दिएको उल्लेख गरे। 

एकपटक भए पनि मधेशप्रति समर्पित नभई, मधेशमा आफू र आफूमा मधेश नल्याई सम्पूर्ण रूपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेश झरेको उनले स्पष्ट पारे। सभापति थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि मतदाता भेट्न सभापति थापा सोमबार बिहान १०ः४५ मा हवाईमार्ग भएर सिमरा ओर्लिएर आफ्नो क्षेत्र आइपुगेका हुन्। त्यसपछि उहाँ स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिसहित सर्लाही आइपुगेका थिए। सभापति थापालाई सर्लाहीको बागमतीमा स्थानीय नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। त्यसपछि नयाँरोड हुँदै जिल्लाको ४ नम्बर क्षेत्र झरेका उनले बरहथवा नगरपालिका–९, स्थित मुक्तेश्वर महादेव मन्दिर दर्शन गरे। त्यसपछि स्थानीय मतदातासँग भेटघाट गर्दै उनी ४ नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यालय पुगेका थिए। 

कार्यालयअगाडि उभिएर सभापति थापाले आफ्नो नेता, कार्यकर्ता तथा मतदातालाई १५ मिनेट लामो सम्बोधन गरे। आफू पदीय जिम्मेवारीमा भए पनि कांग्रेसको कार्यकर्ता रहेको भन्दै यहाँका नागरिकको सेवक हुन चाहेको उनको भनाइ थियो।

सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका सभापति थापा मतदातासँग भेट्न सर्लाही आएका हुन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ छाडेर सर्लाहीको–४ आइपुगेका उनको उम्मेदवारीलाई विशेष महत्त्वका साथ हेरिएको छ। सभापति थापाले मनोनयनपत्र कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको वारेसमा दर्ता गराएका थिए। सुरुमा मनोनयन दर्ताको लागि थापा स्वयं उपस्थित हुने चर्चा गरिएको भए पनि अन्तिममा उनी उपस्थित हुन सकेनन्।

यता यस क्षेत्रका निवर्तमान सांसद अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। कांग्रेसी राजनीतिसँग चिरपरिचित सिंह कांग्रेस उम्मेदवारसँग दोस्रोपटक मैदानमा उत्रिँदै छन्। २०७९ को चुनावमा सिंहले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। यस पहिलाको निर्वाचनभन्दा यसपटकको चुनावमा आफ्नो जनमत बढ्ने उनले दाबीसमेत गरे।
यसपटक जसरी भए पनि आफू विजयी हुने सिंहको दाबी छ। कांग्रेसका उम्मेदवारले कसैगरी पनि जनमत बटुल्न नसकेपछि सभापति आफैँ मैदानमा उत्रिएका सिंहले प्रतिक्रिया दिए। तत्कालीन सर्लाही क्षेत्र नम्बर ६ बाट दोस्रो संविधानसभा निर्वाचनमार्फत संसद् यात्रा तय गरेका सिंह त्यसपछि यस क्षेत्रमा एक छत्र जनमत बटुल्न सफल भएका छन्। 
२०७४ मा कांग्रेसबाट विजयी भएका उनले २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयको माला पहिरिए। ०७४ मा सिंहले निकटतम प्रतिस्पर्धी राकेशकुमार मिश्रलाई १५३९ मत अन्तरले पराजित गरेका हुन्। सिंहले त्यति वेला नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए। यस निर्वाचनमा उनको पक्षमा २९ हजार ६७५ मत प्राप्त भएको थियो भने मिश्रले २८ हजार १३६ मत मात्र प्राप्त गरे। 

मिश्र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवारी दिएका थिए। यस क्षेत्रमा २०७४ मा ५९ हजार ३१२ मत सदर भएको थियो। क्षेत्र नम्बर ४ रास्वपाका उम्मेदवार सिंहको लागि सामान्य भएपछि सभापति थापाको लागि बिल्कुल नयाँ हुनेछ। त्यसकारणसमेत यहाँको वस्तुस्थिति बुझ्न सभापति थापालाई समय लाग्ने जानकारहरू बताउँछन्।
यस क्षेत्रका नागरिकलाई अहिलेको चुनावले खासै नछोए पनि नेता तहमा निकै चर्चा हुन थालेको छ। चिया तथा भट्टी पसलहरूमा समेत आसन्न चुनावी गफले माहोल गरम बन्न थालेको छ। नेपाली कांग्रेसका सभापति थापाले सर्लाही झरेर उम्मेदवार सँगको भेटघाटलाई तीव्र बनाउने स्रोतको दाबी छ।

सिंहले २०७९ मा भने काँग्रेसबाट टिकट पाएन्न । त्यसपछि स्वतन्त्र उम्मेदवारी दर्ता गएका उनको जनमत केही घटेको थियो । तर, पनि उनलाई विजयी हुन फेरी पनि कसैले रोक्न सकेन । सिंहले स्वतन्त्र उम्मेदवारी दिदा समेत २० हजार १७ मत प्राप्त गरे । उनको निकट देखिएका नेपाली काँग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३  मत मात्र प्राप्त गरे । 

०७९ मा यस क्षेत्रमा ६९ हजार २८३ मत सदर भएको थियो । सिंह र नागेन्द्र कुमारको प्रतिस्पर्धालाई दिशा दिने मत भने सोही क्षेत्रका प्रभावशाली नेता शिवपुजन यादवको पकडमा देखिदै आएको छ । समयअनुकूल फरक फरक पार्टीमा देखिने यादव २०७४ मा बाढिएको थियो । तर, यो मत २०७९ मा भने, आफ्नै उम्मेदवारमा मधुमाला कुमारी यादव सँग थियो ।
मधुमाला सम्बन्धमा नेता यादवको छोरी हुनुहुन्छ । उहाँले समेत ०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर १४ हजार ६२२ मत प्राप्त गर्नु भयो । यस पटक यस क्षेत्रको चुनावी माहोल केही फरक बनेको छ ।

नेकपा माओवादी केन्द्र हुँदै नेपाली कम्युनिष्टका नेता बनेका यादवले माग गरे अनुसार आफ्नो छोराको लागि टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।
यादवले नै नेकपा एमाले प्रवेश गरी टिकट लिएर छोरा रजनिश कुमार यादवलाई उम्मेदवार बनाएका छन् । त्यतिमात्र हैन यादवको छोरी मधुमाला कुमारी यसपटक पनि स्वतन्त्र उम्मेदवार बनेकी छिन् । यस घटना क्रमले समेत यहाँको निर्वाचन थप रोमान्चक बन्ने आकलन गरिएको छ । 

यस क्षेत्रमा बहुजन एकता पार्टी(एकल चुनाव चिन्ह)मा हरिनन्दन कुमार रंजन, जनता समाजवादी पार्टीबाट रामेश्वरराय यादव, नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट रामनाथप्रसाद साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी, जनमत पार्टीबाट राकेशकुमार मिश्र, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिश राय, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीपकुमार झा, उज्यालो नेपाल पार्टीबाट पीताम्बर सिंह कुशवाहा, नेपाली कांग्रेसबाट गगन थापा, राष्ट्रिय मुक्ति पार्टीबाट उदय कान्त मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर अमरेशकुमार सिंह, नेपाली कम्युनिस्ट पार्टी(एकीकृत मार्क्सवादी लेनिनवादी)बाट अमनिशकुमार यादवलगायतले उम्मेदवारी दिएका छन्। ३१२ मतदानस्थल तोकिएको यस जिल्लामा ६२८ मतदान केन्द्रबाट एक लाख २१ हजार १२ जना मतदाताले मतदान गर्ने भएका छन्। 

सुझावित समाचार