एसबिआई बैंक सिन्धुली शाखा लुटपाटमा संलग्न चालकसहित पाँच पक्राउ

घरबेटीसमेत प्रहरी नियन्त्रणमा

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न चालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको विवरण भने भोलि मात्रै सार्वजनिक प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । 

पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गर्दा अनुसन्धानमा प्रभाव पर्ने देखिएकाले सार्वजनिक नगरेको उनको भनाइ छ । लुटपाटमा अन्य व्यक्तिहरू पनि सहभागी भएको आशंका र अनुसन्धान जारी रहेकाले नाम भोलि मात्रै सार्वजनिक गर्ने उनले बताए । 

मंगलबार साँझ भएको लुटपाटपछि स्थानीय युवाहरूले गाडी र चालकलाई नियन्त्रण लिएका थिए भने लुटपाटमा संलग्न व्यक्तिहरू जंगलतर्फ भागेका थिए ।

भागेका व्यक्तिहरू बाटो अनुभव नभएका कारण बुधबार बिहान जंगलबाट स्थानीय पसलमा चाउचाउ, रेडबुललगायतका सामान किन्न आउँदा स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । 

बैंकबाट लुटेराहरूले करिब तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लगेकोमा हालसम्म दुई करोड ८० लाख ५२ हजार १७५ रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका पाँचैजनालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बस्तीपुरबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीमाढीमा ल्याइएको छ । अनुसन्धानको लागि बैंक रहेको घरबेटीलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । 

लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको बिएडी ०३९८ नम्बरको टाढा सुमो जिप तथा चालक भवतसिंह थापा केटी लिन जाने भनी लिएर आएको चालकको भनाइ उदृत गर्दै प्रहरीले बताएको छ । 

हतियारसहित आएका लुटेरा समूहले बैंकका कर्मचारी र सुरक्षागार्डलाई हातखुट्टा बाँधी पेस्तोल देखाएर लुटपाट गरेका थिए । 
 

सुझावित समाचार