उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेकपा वा अन्य कुनै दलसँग एकीकरण नगर्ने प्रस्ट पारेका छन्।
अन्य दलहरूसँग एकीकरण गर्न लागेको भन्ने हल्ला असत्य रहेको बताउँदै घिसिङले भविष्यमा पनि कुनै पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढ्ने स्पष्टीकरण दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टीलगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो।’
निराधार र भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गर्दै घिसिङले अगाडि भनेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु।’