१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तीर्थराज बस्नेत काठमाडौं
२०७६ असार ५ बिहीबार ०६:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौं महानगरपालिकामा मेयर–उपमेयर विवाद

Read Time : > 1 मिनेट
तीर्थराज बस्नेत काठमाडौं
२०७६ असार ५ बिहीबार ०६:५२:००

सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकामा विवाद देखिएको छ । मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गी नेतृत्वको कार्यदल भंग गरेपछि विवाद देखिएको हो ।  गत ६ माघमा खड्गीको नेतृत्वमा अधिकार सम्पन्न कार्यदल गठन गरिएको थियो । तर, वैशाख तेस्रो साता बसेको कार्यपालिका बैठकबाट मेयर शाक्यले कार्यदल भंग गरेका छन् । कार्यदलले तीन महिना लगाएर शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा अध्ययन गरेको थियो । प्रतिवेदन नबुझ्दै मेयर शाक्यले शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनको नेतृत्व आफैँले गर्ने भन्दै कार्यदल भंग गरेका हुन् ।

कार्यदल निर्माण गर्दा सम्भाव्यता अध्ययन गर्ने, कार्यविधि बनाउने र त्यसको कार्यान्वयनसमेत गर्न पाउने गरी अधिकार दिइएको थियो । ‘पूर्ण अधिकार दिएर मेरो नेतृत्वमा कार्यदल गठन गरिएको थियो । तर, मेयर साबले किन हो, प्रतिवेदन नबुझ्दै कार्यदल भंग गरिदिनुभयो,’ उपमेयर खड्गीले भनिन्, ‘अहिलेसम्म हामीले धेरै काम गरिसक्ने थियौँ । तर, अहिले अड्किएको छ ।’ कार्यदलमा उपमेयर खड्गीसँगै १५ वडाका अध्यक्ष ईश्वरमान डंगोल र १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य थिए ।

कार्यदल भंग स्वाभाविक : महर्जन
कार्यदलमा सदस्य रहेका न्हुच्छेकाजी महर्जन भने बोर्डले गठन गरेको कार्यदल बोर्डले नै भंग गर्नु अनौठो नभएको बताउँछन् । ‘प्रतिवेदन औपचारिक रूपमा दिन बाँकी थियो । बोर्डले भंग ग-यो,’ उनले भने, ‘कार्यदल भंग भए पनि शौचालय निर्माणको काम रोकिन्न ।’ उनले अहिले ‘गुथी’ नामक संस्था र काठमाडौं महानगरपालिका सहरी योजना आयोगले मोडालिटीका विषयमा छलफल गरिरहेको जानकारी दिए । उनले भने ‘हामीले मोडालिटीका विषयमा छलफल गरिरहेका छौँ । शौचालय निर्माण प्रक्रिया चाँडै अघि बढ्छ ।’ 

 २४२ सार्वजनिक शौचालय आवश्यक  
काठमाडौं उपत्यकामा दुई सय ४२ सार्वजनिक शौचालय आवश्यक रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकामा गरिएको अध्ययनले दुई सय ४२ सार्वजनिक शौचालय आवश्यक रहेको देखाएको हो ।  चार स्थानीय तहका उपमेयर, एक–एकजना प्रतिनिधि, खानेपानी तथा ढल निकास विभाग, आयल निगमका प्रतिनिधि र ‘गुथी’ नामक संस्थाले सार्वजनिक शौचालय निर्माणका लागि अध्ययन गरेका थिए । 

खुलामञ्चको रिस कार्यदलमाथि : उपमेयर खड्गी
वैशाख दोस्रो साता खुलामञ्चमा बनाइएका अवैध सटर भत्काउने विषयमा मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद भएको थियो । सोही विवादको रिस आफू नेतृत्वको कार्यदलमा पोखिएको खड्गीले बताइन् । ‘कार्यदल किन भंग गरियो बुझ्न सकेको छैन । खुलामञ्चको विषयमा मैले स्ट्यान्ड लिएको थिएँ । त्यही रिस पोखिएको हुन सक्छ,’ उनले भनिन्, ‘मलाई जनताले काम गर्न जिम्मेवार दिएका थिए । काम गर्थेँ । उहाँले भंग गर्नुभयो । मैले झगडा गर्न पनि मिलेन ।’ कार्यदलले महानगर क्षेत्रभित्र सामान्य, आधुनिक र ई–ट्वाइलेट (स्वचालित) शौचालय निर्माण गर्ने र निर्माण, सञ्चालन र व्यवस्थापनमा निजी क्षेत्र तथा दातृ निकायसँँग सहकार्य गर्न सकिने गरी कार्यविधि तयार पारेको थियो । महानगर क्षेत्रमा अहिले ५८ वटा सार्वजनिक शौचालय छन् । भएका शौचालयसमेत व्यवस्थित छैनन् । सार्वजनिक शौचालय निर्माण गर्न नसकेको भन्दै महानगरको आलोचना हुने गरेको छ ।