नेपालको अनुरोधमा इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गर्दै

शनिबार, ७ असार, २०८२
डिजिटल संस्करण

इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले  आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह  गरेकी थिइन् । 

परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ। यहाँहरूले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरू उहाँहरूको सहयोगको प्रतिक्षामा छौँ ।’ 

केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा. राणाले भारत सरकारसँग सो आग्रह गरकी थिइन् ।  यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् । 

इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूताबासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरू र  इरानस्थित भारतीय दूतवासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेका छन् । 

यससँगै भारतीय दूतावासले नेपाल र त्यहाँस्थित श्रीलंकाली नागरिकलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमनसम्बन्धी कानुनका कारण पाँचजना नेपाली इरानी जेलमा रहेकाले उनीहरूलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ । 
 

सुझावित समाचार