मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
२o८१ चैत २४ आइतबार १o:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नन्दन तीन वर्षपछि राष्ट्रिय टिममा फर्किए

अस्ट्रेलियाबाट फर्किएपछि कर्णाली याक्स र बागमती प्रदेशबाट खेलेका बलर नन्दन यादवलाई राष्ट्रिय टिममा समावेश गरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार १o:१o:oo

कर्णाली याक्समा बलर नन्दन यादवले तीन वर्षपछि नेपाल राष्ट्रिय क्रिकेट टिममा ‘कमब्याक’ गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चारदेशीय टी–२० सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा नन्दनसहित १४ खेलाडीले बोलाएको छ । नन्दनसहित लोकेश बम, साहब आलम र बसिर अहमदले पनि टोलीमा पुनरागमन गरे । पछिल्लोपटक राष्ट्रिय टिममा स्थान बनाउन असफल भएपछि नन्दन अस्ट्रेलिया पुगेका थिए । 

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)का लागि अनुबन्ध गरेपछि उनी स्वदेश फर्किएका हुन् । कर्णाली प्लेअफमा स्थान बनाउँदा नन्दनले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट पनि उत्कृष्ट प्रदर्शन गरेपछि नन्दन रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए । 

ज्ञानेन्द्रलाई मौका
टोलीलाई प्रशिक्षण पनि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द मल्लले नै गराइरहेका छन् । क्यानले १५ चैतमा टिमको नयाँ प्रशिक्षकको अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको थियो । तर, तत्काललाई भने क्यानले अन्तरिम प्रशिक्षकको रूपमा ज्ञानेन्द्रलाई जिम्मेवारी दिएको हो । यसअघि मोन्टी देसाईलाई क्यानले निरन्तरता नदिएपछि नेपाली टिमको मुख्य प्रशिक्षक पद रिक्त थियो ।

मोन्टी प्रशिक्षक रहँदा नेपाल आइसिसी टी २० विश्वकपमा छनोट भएको थियो । त्यस्तै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएका हुन् । मल्लले यसअघि पनि हङकङ सुपर सिक्सेसमा नेपाली टोलीका प्रशिक्षक थिए । मल्लले नेपालको ‘ए’ टोलीको प्रशिक्षक भएर पनि काम गरिसकेका छन् । नेपाली टोलीमा कप्तान रोहितकुमारसँगै, कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्सनकुमार झा, कुशल मल्ल र शाहब आलम छन् । सन्दीप लामिछाने भने हाल विश्राममा छन् । 

पहिलो खेल कतारसँग 
सिरिजमा नेपालले हङकङसहित कुवेत र कतारसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल चैत २७ गते कतारसँग, चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ । चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ । तालिकाको शीर्ष दुईमा रहनेले सीधै फाइनल खेल्नेछन् ।