
ओखलढुंगाको थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । ३,३५० मिटर उचाइमा रहेको थोलेदेम्बा डाँडाको पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडीले आगामी १ वैशाखसम्म प्रतिस्पर्धा गर्नेछन् ।
थोलेदेम्बा डाँडासँगै जिल्लाकै पर्यटन विकाससँग जोडेर गाउँपालिकाले गल्फ महोत्सव आयोजना गर्न लागेको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताए । प्रतियोगितामा अमेरिका, बेलायत, क्यानडा, दक्षिण कोरिया र भुटानसँगै स्वदेशी गल्फरले प्रतिस्पर्धा गर्ने शेर्पाले बताए ।
‘पहिलो वर्ष ६ देशका विदेशी र नेपालका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन्, यसले थोलेदेम्बा डाँडाले पनि चर्चा पाउने विश्वास लिएको छु,’ उनले भने, ‘गल्फकै माध्यमबाट पर्यटक तान्ने लक्ष्य छ ।’ प्रतियोगिताका लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ ।