
अश्वनी कुमारले २४ रन खर्चेर चार विकेट लिएपछि मुम्बई इन्डियन्सले सोमबार १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकता नाइट राइडर्समाथि आठ विकेटको सानदार जित निकालेको छ । पहिलो ब्याटिङ गरेको कोलकताले १६.२ ओभरमा सबै विकेटको क्षतिमा ११६ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा मुम्बईले १२.५ ओभरमा दुई विकेट गुमाएर १२१ रन बनाउँदै सानदार जित निकाल्यो । अश्वनी आइपिएलको डेब्यु खेलमै चार विकेट लिने पहिलो भारतीय बलर बनेका छन् ।
यसअघि लगातार दुई खेल गुमाएको मुम्बईले तेस्रो खेलमा महत्वपूर्ण जित हात पार्यो । मुम्बई दुई अंकका साथ छैटौँ स्थानमा उक्लेको छ । तीन खेलमा दुई हार र एक जित निकालेको कोलकाता अंकतालिकाको पुछारमा रह्यो । चालू आइपिएलमा रोयल्स च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सले लगातार दुई जित निकालेका छन् । यसबाहेक अन्य सबै टोलीले जित र हारको नतिजा हात पारेका छन् ।
मुम्बईलाई महत्वपूर्ण दुई अंक दिलाउने क्रममा रायन रिकेटनले आक्रामक ब्याटिङ गरेका थिए । उनले ४१ बलमा पाँच छक्का र चार चौकाको सहयोगमा सर्वाधिक ६२ रनको योगदान दिए । सूर्यकुमार यादवले नौ बलमा दुई छक्का र तीन चौका प्रहार गरी २७ रन बनाए । ओपनर रोहित शर्माले १२ बलमा १३ रन जोडे । कोलकाताका लागि रुसेलले २.५ ओभरमा ३५ रन खर्चेर दुई विकेट लिए ।
अश्वनीले घातक बलिङ गरेपछि पहिलो ब्याटिङ गरेको कोलकाताले मुम्बईविरुद्ध कमजोर प्रदर्शन गर्यो । इनिङ्सको १.१ ओभरभित्र कोलकाताले दुई विकेट गुमाउँदा स्कोर बोर्डमा दुई रन मात्र चढाएको थियो । टे«न्ट बाउल्टले सुनील नारिनलाई शून्य रन तथा दीपक चाहरले आक्रामक ओपनर क्विन्टन डी ककलाई एक रनमा पेभेलियन पठाउँदा कोलकाताको कमजोर सुरुवात भयो । कप्तान अजिन्का राहाने र अंक्रिस रघुवंशीले तेस्रो विकेटका लागि २३ रनको साझेदारी गरेका थिए । राहानेले सात बलमा ११ रन बनाए । रघुवंशीले सर्वाधिक २६ रन बनाउन १६ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए ।
राजस्थानका कप्तान रियानले तिरे १९ लाख
राजस्थान रोयल्सका कप्तान रियान परागले ढिलो बलिङ गरेका कारण १९ लाख रुपैयाँ जरिवाना तिरेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार चेन्नई सुपर किंग्ससँगको खेलमा रियानको कप्तानीमा रहेको राजस्थानले निर्धारित समयमा २० ओभर पूरा गर्न सकेन । बिसिसिआइले स्लो ओभर बलिङ गरेको राजस्थानका कप्तानलाई कारबाहीस्वरूप जरिवाना तिराएको हो । राजस्थानले चालू आइपिएलमा पहिलो जित निकाल्ने क्रममा चेन्नईलाई ६ रनले हराएको थियो । यसैगरी, बिसिसिआईले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई पनि १९ लाख रुपैयाँ जरिवाना गराएको छ ।