
वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । गत मंगलबार लडेर पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका कोइरालाको आइतबार निधन भएको हो । उपचारकै क्रममा आइतबार राति ९ बजे निधन भएको उनकी छोरी ऋचा कोइरालाले जनाएकी छिन् ।
उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि समानान्तर रूपमै सक्रिय थिए । उनले ०४७ पछि एमालेनिकटको दृष्टि साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, ०६१ पछि रोडम्याप साप्ताहिकको प्रधानसम्पादक भएका उनी पछिल्लो समय साँघु साप्ताहिक र जनआस्थासहितका अखबारमा स्तम्भकारका रूपमा सक्रिय लेखनमा थिए । बुधबार साप्ताहिकमा पनि उनी लामो समय स्तम्भकार रहे ।
उनी ०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । कोइराला करिब तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत पनि भएका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसल्लाहकारसमेत हुन् । पार्टी विभाजनपछि भने उनी नेकपा एसमा आबद्ध थिए ।