
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
राजावादीहरूको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार देखाउँदै प्रहरीले ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेकाे छ।
तीमध्ये मिश्र र राणासहित ११ जनामाथि राज्यविरुद्धको कसुरमा समेत अनुसन्धान भइरहेकाे छ। यी ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बाँकी ३० जनाको हकमा १५ गते पक्राउ परेकाहरूलाई पाँच दिन र १६ गते पक्राउ परेकाहरूलाई चार दिनको म्याद थप भएको छ।