मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत १९ मंगलबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार

अर्थमन्त्रीलाई पोल्ट्री महासंघको ज्ञापनपत्रः फ्रोजन मासुमा मूल्य अभिवृद्धि कर हटाउन माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १८:o७:oo

नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाएर आयातमा ५ प्रतिशत अन्तः शुल्क मात्र लगाउन माग गरेको छ। 

मंगलबार महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर आयात गरेको खुकुराको मासुमा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा अहिले भने नेपालमा उत्पादित कुखुराको मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरेकोमा संशोधनको लागि आग्रह गरेका छन्।

मन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा नेपाल उत्पादित कृषिजन्य प्राथमिक उत्पादनमा मूल्य अभिवृद्धि कर लगाउँदा उपभोक्ता मूल्य बढ्न गएको र चोरी पैठारी बढेको भन्दै मूल्य अभिवृद्धि कर हटाउन  माग गरिएको छ। 

२०७९ सम्म आर्थिक ऐनमा  सिंगो र टुक्रा पारिएका फ्रोजन कुखुराको मासुमा आयातमा मूल्य अभिवृद्धि करमा छुट र पाँच प्रतिशत मात्र अन्तःशुल्क थियो। आर्थिक ऐन २०८० मा आएर यी दुवैमा लाग्ने गरेको अन्तःशुल्क हटाएर मूल्य अभिवृद्धि कर लगाएको थियो।

ताजा मासु बेच्दा कर नलाग्ने, तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत कर लाग्ने व्यवस्था अव्यावहारिक भएकाले १३ प्रतिशत मूल्य अभिवृद्धि करको प्रावधान हटाउनुपर्ने महासंघका महासचिव दिनेश मिश्रले बताए।

भेटमा अर्थमन्त्री पौडेलले महासंघको मागमा सरकार सकारात्मक रहेको र आगामी बजेटबाट समस्या समाधान गर्ने बताएको मिश्रले  जानकारी दिए। 

आर्थिक ऐन २०८० मा भएको करको परिवर्तनले पोल्ट्री उद्योगलाई नराम्रो असर गरेको आत्मनिर्भर रहेको उद्योगलाई परनिर्भरतामा जाने जोखिम बढेको मिश्रले दाबी गरे।
पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिब पाँच लाखजनाले रोजगारी पाएको उनले बताए।