
वीरगन्ज महानगरपालिका– ४, विर्तामा रहेको बाल सुधारगृहका बालकहरूले होहल्ला गर्दै नाराबाजी गरेका छन्। मंगलबार दिउँसो सुधारगृहका बालकहरूले सेवा-सुविधाको माग राख्दै नाराबाजी गरेका पर्सा प्रहरीले जनाएको छ।
बाल सुधारगृहले आधारभूत आवश्यकताहरू पनि उपलब्ध नगराएपछि विरोधस्वरूप उनीहरूले नाराबाजी गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। ‘पछिल्लो समययता अत्यधिक गर्मी बढ्दै गएको छ, पर्याप्त पंखाको सुविधा नभएको गुनासो उनीहरूले गरेका थिए। साथै, अहिले पिउने पानीको सुविधा पनि राम्रो नभएको भन्दै होहल्ला गरेका हुन्,’ उनले भने।
सुधारगृहमा बिजुली बत्तीका लागि वैकल्पिक व्यवस्था गर्नसमेत उनीहरूले माग राखेका छन्। असन्तुष्ट बालकहरूको माग सम्बोधन गर्ने विषयमा बाल सुधारगृह प्रशासनसँग प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छलफल गरेपछि अवस्था सामान्य बनेको लम्सालले बताए।
सुधारगृह प्रशासनले बालकहरूको आधारभूत आवश्यकताहरू पूरा गर्दै जाने र अन्य माग पूरा गर्न आवश्यक बजेट प्रबन्धका लागि सरोकारवाला पक्षसँग समन्वय गर्ने सहमति भएको बताइएको छ।
सुधारगृहमा विभिन्न कसुरमा संलग्न १२७ जना बाल कैदीबन्दीहरू छन्। तर, सुधार गृहको क्षमता ५० जनासम्मको मात्रै छ। यसअघि २०८० भदौ २६ मा बाल सुधारगृहमा बाल कैदीबन्दीहरूबिच आपसमा झडप हुँदा ११ बाल कैदीबन्दी र ३ प्रहरी घाइते भएका थिए।