
सभामुख देवराज घिमिरेले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।
यस सम्बन्धमा संसद्मा छलफल, बहस गर्ने वातावरण बनाउन पनि दलहरूलाई सभामुखले आग्रह गरे । सभामुख घिमिरेले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन पनि अपिल गरे ।
गत शुक्रबार राजावादीले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए । तर, प्रदर्शन नसकिँदै प्रदर्शन स्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पुर्याए ।
निजी घरमा लगाइएको आगोमा जलेर एकजना पत्रकारको जलेर मृत्यु भयो । अर्का एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरे । माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड प्रयास गरे । सन्चो उद्योगमा आगजनी गरे ।
अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनी गरे । कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजनी र तोडफोड प्रयास गरे । प्रदर्शनका क्रममा ३० जनाभन्दा बढी घाइते भएका छन् । यी गतिविधिलाई सभामुख घिमिरेले लोकतन्त्रमाथिको प्रहार भनेका हुन् ।