
नेपाल शिक्षक महासंघको नेतृत्वमा भोलिदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू आन्दोलनमा उत्रिने भएका छन्। महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै अनिश्चितकालीन आन्दोलनका थाल्ने जानकारी दिएको हो।
२० चैतदेखि सुरु हुने आन्दोलन पालिका, जिल्ला र प्रदेश तहमा समेत हुनेछ। मुख्य आन्दोलन काठमाडौंकेन्द्रित रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। यसअघि शिक्षकहरूले २४ फागुनमा माइतीघर क्षेत्रमा जुलुस र धर्ना दिएका थिए। विभिन्न पार्टी कार्यालयमा समेत धर्ना दिइसकेपछि अब सडक तताउने गरी आन्दोलनका कार्यक्रम तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए।
‘हामीसँगका मागमा सरकार प्रतिबद्ध छैन, विद्यालय शिक्षा ऐनलाई बेवास्ता गरिरहेको छ, सरकारले चाह्यो भने त्यो ऐन छिटो आउन सक्छ, तर सरकारले चासो नदिएर हो,’ उनले भने, ‘हाम्रो मुख्य माग भनेको विगतमा भएका सबै सहमति सम्बाेधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी होस् भन्ने हो, दुई–चार दिनमा अघि बढ्ने विद्यालय विधेयक सरकारले वास्तै गरेको छैन।’
सरकारले यसअघि शिक्षकहरूसँग सम्झौता गरेको थियो। तर, ती सम्झौताको अवस्थाबारे शिक्षकहरूलाई थाहा नभएको उनको भनाइ छ। अहिले सबैजसो विद्यालयमा पठनपाठन नभएको र नयाँ शैक्षिक सत्र पनि सुरु नभएकाले शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा लागेका हुन्।
भोलिदेखि सुरु हुने आन्दोलन अनिश्चितकालीन रहेको महासंघले जनाएको छ। करिब ५० हजार शिक्षक बुधबार दिउँसो १ बजे माइतीघर क्षेत्रमा आन्दोलनमा उत्रिनेछन्।