मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
Invalid date format १८:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुध्रिँदै अछामको कुइका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

अधिकांश टोल सडक सञ्जालको पहुँचमा रहेको अछामको कुइका बालविवाह, छाउपडी र जातीय विभेदमा पनि सुध्रिँदै गएको छ। यहाँ सबै खाले विभेदमा व्यापक सुधार देखिन्छ। पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर १ मा पर्ने कुइका यो नगरपालिकाको सबैभन्दा सानो वडा हो।

जहाँ दलितभन्दा गैरदलित समुदायको बसोबास धेरै छ। दशकअघि दलित र गैरदलित सँगै बसेर खाने अवस्था थिएन भने महिलाहरू महिनावारी हुँदा छाउगोठमा बस्नुपर्थ्यो। तर, अहिले त्यो अवस्थामा व्यापक सुधार आएको वडाध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले बताए। ‘चियापसल, भोजभतेर र गाउँका सार्वजनिक ठाउँमा विभेदको अवस्था शून्य छ,’ उनले भने, ‘अचेल महिनावारी चरणका महिला पनि गोठमा बस्नुपर्दैन। तर, विभेदका केही अवशेष भने बाँकी छन्।’ कतिपय ज्येष्ठ नागरिकले अझै पनि छाउ र जातका आधारमा विभेद गर्ने गरेको उनले बताए।

कुइकाको मंगलेश्वरी आधारभूत विद्यालयमा आयोजित बाल कचहरीमा बोल्दै वडाध्यक्ष तिमिल्सिनाले विगतभन्दा बालविवाहको अवस्थामा पनि सुधार आएको दाबी गरे। विगतमा अभिभावकै सहमतिमा बालविवाह हुने गरेको भए पनि केही वर्षयता त्यो तथ्य शून्यमा झरेको छ। उनका अनुसार अहिले यहाँका बालबालिकासमेत सचेत देखिन्छन्। जसका कारण बालविवाह घटेको छ।

बालविवाहविरुद्ध आफूहरू अहोरात्र खटिँदा यो परिवर्तन आएको भन्दै जिल्ला बाल सञ्जालका वरिष्ठ उपाध्यक्ष रिता ढकालले यस्तो सकारात्मक कुराले प्राथमिकता नपाएको गुनासो गरिन्। ‘यहाँ धेरै परिवर्तन भएको छ,’ उनले भनिन्, ‘यसबारे बाहिर चर्चा भएको छैन। प्रचार नभएकै कारण यहाँको परिवर्तन नदेखिएको मात्र हो।’

जोखिममा रहेका बालबालिकाका क्षेत्रमा वर्ल्डभिजन र आस्था नेपालमार्फत उनीहरूको विकास र समृद्धिमा परिवर्तन आएको उनले बताइन्। बाल कचहरीमा बोल्ने कुइकाका कमल ढकाल, संगीता तिमिल्सिना, रमिला ढकाल, पवित्रा ढकाललगायतका बालबालिकाले पनि विगतभन्दा गाउँको अवस्था सुधारोन्मुख रहेको बताए।

तर, महिनावारी चरणमा सार्वजनिक धारा र घरका शाैचालय प्रयोगमा समस्या रहेको उनीहरूको गुनासो छ। यसमा स्वयं महिला र किशोरीहरू दोषी रहेको जाल्पेश्वरी माविका प्रधानाध्यापक पूर्णप्रसाद देवकोटाले बताए। ‘धारा, शाैचालय प्रयोग गर्ने र दुध-दही खाने कुरामा रोकावट छैन,’ उनले भने, ‘उनीहरू आफैँमा डर छ।’ देवताको डरले महिला र किशोरी आफैँले यस्तो गर्ने गरेको उनको आशय छ। तर, यो समस्या केही सीमित ठाउँमा मात्र रहेको मंगलेश्वरीका प्रधानाध्यापक शिवराज तिमिल्सिनाले बताए।

बालबालिका र महिलाको अवस्था सुधारका लागि अहिले पनि प्रयास जारी रहेको आस्था नेपालका कार्यसमिति सदस्य खेमराज अधिकारीले बताए। उनीहरूको विकास, समृद्धि र सरोकारबारे समुदायमा रूपान्तरण कक्षा सञ्चालन गरिएको अधिकारीको भनाइ छ। जहाँ बालबालिका र अभिभावक लक्षित विषयमा पढाइ हुने गरेको छ।