मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
रमेश सुवेदी काठमाडाैं
२o८१ चैत १६ शनिबार o९:३१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग आजदेखि : सबै टोलीलाई विदेशी खेलाडीको भर

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o९:३१:oo

आगामी १३ वैशाखसम्म चल्ने प्रतियोगितामा गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकसम्म विदेशीलाई प्राथमिकता

तेस्रो नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज लिग शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । उद्घाटन खेलमा पूर्वच्याम्पियनहरू ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबिच खेल हुनेछ । एनएसएलमा लिगदेखि फाइनलसम्म २५ खेल हुनेछन्, जसमा चार प्ले अफ खेल समावेश छ । एनएसएल लिग तेस्रो संस्करणसम्म आइपुग्दा धेरै उतारचढाव देखिन्छ । 

पहिलो संस्करण ०७७ सालमा भएको थियो । कोभिड–१९ को समयमा सुरु भएको लिग ०८० मंसिरमा दोस्रोपटक आयोजना भयो । सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र थ्री स्टारसहित आठ टोलीले खेलाडी अनुबन्धको कारण देखाउँदै असन्तुष्टि जनाउँदा दोस्रो संस्करणमा तीनपटकसम्म 
मिति सारियो । 

दोस्रो संस्करणमा अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबिच आपसी खिचातानीका कारण लिगको मिति हेरफेर भएको थियो । एनएसएलको व्यवस्थापनले यसलाई दीर्घकालीन योजना बनाउन नसक्दा प्रत्येक संस्करणमा कुनै न कुनै एक टोलीले नाम फिर्ता लिइरहेको छ । पहिलो संस्करण खेलको विराटनगर सिटीले दोस्रोमा भाग नै लिएन । दोस्रो संस्करणमा वीरगन्ज युनाइटेड, स्पोर्टिङ इलाम मेची र झापा एफसी जोडिए । वीरगन्ज र इलामले तेस्रो संस्करण खेलेनन् । १३ वैशाखसम्म आयोजना हुने नेपाल सुपर लिगका विशेषत यस्ता छन् । 

टिममा दुई करोडसम्म लगानी
तेस्रो संस्करणमा सहभागी सातै फ्रेन्चाइज टोलीले उपाधि जित्न खेल्ने बताएका छन् । उनीहरूले टोली बलियो बनाउने क्रममा आकर्षक लगानी गरेका छन् । उपाधि जित्ने लक्ष्यका साथ थोरैमा एक करोड र धेरैमा दुई करोडसम्म लगानी गरेको क्लबहरूको भनाइ छ । ‘हामीले उपाधि जित्ने लक्ष्यका साथ खेलाडी अनुबन्ध गर्नेदेखि टोली तयार पारेका छौँ,’ सहभागी क्लबका पदाधिकारीले भने । शुक्रबार भएको प्रिपोस्टमा सबै टोलीका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । काठमाडौं र ललितपुरले उपाधि जित्ने योजनाअनुसार तयारी गरेका छन् ।  

विदेशी खेलाडीमै केन्द्रित
सहिद स्मारक ‘ए’ डिभिजन नियमित नहुनु र निरन्तर प्रतियोगिता आयोजना नहुँदा यो दुई वर्षभित्र युवादेखि सिनियर खेलाडी विदेश भासिएका छन् । यसमध्ये चार दर्जन खेलाडी अस्ट्रेलिया पलायन भएका छन् । खेलाडी एकपछि अर्को गरी विदेश पलायन हुँदा यसको प्रत्यक्ष असर एनएसएलमा परेको छ । आयोजकले सहभागी टोलीसँग छलफल गर्दै विदेशी खेलाडीको कोटा बढाएको छ । अघिल्लो संस्करणसम्म एक टोलीले कप्तीमा चार खेलाडी अनुबन्ध गर्न दिइएको थियो । यसपटक भने ६ जना विदेशी खेलाडी एक टोलीमा भित्रिएका छन् । फुटबलको फ्रेन्चाइज लिगमा एएफसीले ६ विदेशी रहँदा कम्तीमा एक खेलाडी एसियन हुनुपर्ने भनेको छ । मैदानमा पाँच खेलाडी हुनेछन् । झापाले शुक्रबारै एकैपटक पाँच विदेशी खेलाडी अनुबन्ध गरेको छ । झापाबाहेक अरू टोलीमा ६ विदेशी खेलाडी छन् । सहभागी फ्रेन्चाइज टोलीले टिम बलियो बनाउन गोलरक्षक, रक्षक, मिडफिल्डर र स्ट्राइकरलाई प्राथमिकतामा राखेका छन् । 

सातमध्ये ६ टोलीमा विदेशी गोलरक्षक
मैदानमा गोलरक्षकको भूमिका महत्वपूर्ण मानिन्छ । गोलरक्षक उत्कृष्ट हुँदा डिफेन्डर ढुक्क हुन्छन् । फुटबलमा कम्तीमा गोलरक्षक राम्रो हुनुपर्ने मान्यता छ । तेस्रो संस्करणमा सहभागी सातमध्ये ६ टोलीले नेपालका गोलरक्षकलाई त्यति पत्याएनन् । उनीहरूले गोलपोस्टको जिम्मेवारी विदेशीलाई दिएका छन् । केवल बुटवलले मात्र गोलरक्षकको जिम्मेवारी स्वदेशीलाई दिएको छ । राष्ट्रिय टोलीको अनुभव बटुलेका टिकेन्द्र थापा र दीप कार्कीले बुटवलको गोलपोस्ट सम्हाल्नेछन । यसबाहेक अन्य ६ टोलीका गोलरक्षक विदेशी हुनेछन् । नेपाली टोलीका कप्तान र गोलरक्षक किरणकुमार लिम्बू एनएसएलमा छैनन् । उनले आफ्नो मूल्य अत्यधिक बढाउँदा सहभागी टोलीले विदेशीलाई नै विश्वास गरेका छन् । घरेलु फुटबलका राम्रा गोलरक्षक विशाल सुनार र विकेश कुथुजस्ता अक्सनमै बिकेनन् । राष्ट्रिय टोलीबाट खेलिसकेका विशाल श्रेष्ठ, अभिषेक बरालसँगै युवा गोलरक्षक जियारथ शेख, प्रदीप भण्डारी, एन्जल श्रेष्ठ, कृशल मोक्तान यसपटक बेन्चमै सीमित हुनेछन् । 

विदेशी प्रशिक्षकको दबदबा 
सहभागी फ्रेन्चाइजले यसपटक स्ट्राइकर र गोलरक्षकबाहेक प्रशिक्षकमा पनि विदेशीलाई विश्वास गरेका छन् । सातमध्ये चार टोलीले प्रो लाइसेन्सप्राप्त प्रशिक्षकलाई अनुबन्ध गरेका छन् । नेपालका प्रशिक्षकसँग प्रो लाइसेन्स छैन । पूर्वच्याम्पियन काठमाडौं र ललितपुर, दुईपटकको उपविजेता धनगढी र बुटवलले विदेशी प्रशिक्षकलाई पहिलो प्राथमिकतामा राखेका छन् । ललितपुरले इंग्लिस प्रशिक्षक साइमन ग्रेस, काठमाडौंले बेल्जियमका अनुभवी प्याट्रिक डे विल्डे र धनगढीले स्पेनका जुआन मानुएल मार्टिनेजलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । बुटवलले भुटानका चर्चित प्रशिक्षक पुष्पलाल शर्मालाई नयाँ सिजनमा भित्र्याएको छ । स्वदेशी प्रशिक्षकमा नवीन न्यौपाने एफसी चितवन, प्रवेश कटुवाल झापा एफसी र सुमन श्रेष्ठ पोखरा थन्डर्सको प्रशिक्षणमा देखिनेछन् । यी नेपाली प्रशिक्षकसँग एएफसी ‘ए’ लाइसेन्स छन् । 

मार्कीमा पाँच नयाँ अनुहार
सातमध्ये पाँच टोलीले यसपटक मार्की खेलाडीमा नयाँ चयन गरेका छन् । साबिक विजेता ललितपुरले मार्कीमा अनन्त तामाङलाई निरन्तरता दिएको छ । अञ्जन विष्टलाई चितवनले मार्की बनाएको छ । अञ्जन लगातार तीन संस्करणमा फरक टोलीमा देखिनेछन् । उनी पहिलोमा ललितपुर र दोस्रोमा झापा एफसीमा थिए । दक्षिण कोरियाको एकेडेमीमा हुर्किएका मनीष डाँगी बुटवल–लुम्बिनी, समीर तामाङ पोखरामा, कृतिशरत्न छुन्जू धनगढी एफसी, रोहन कार्की काठमाडौं रेजर्स र लाकेन लिम्बू झापा एफसीसँग मार्की खेलाडीमा जोडिएका हुन् ।