
शुक्रबार काठमाडौंमा भएको राजावादीको आन्दोलनमा प्रदर्शनकारीलाई उक्साएर आन्दोलन हिंसात्मक बनाएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरूलाई घरबाटै पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
त्यस्तै, आन्दोलनको कमान्डर घोषणा गरिएका व्यवसायी दुर्गा प्रसाईं फरार छन् । तर, राति अबेरसम्म उनले सामाजिक सञ्जालमा भने अपडेट गरिरहेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी वृद्ध भएका कारण घरमै नजरबन्दमा राखिएको छ ।
समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पुतलीसडकबाट पक्राउ गरिएको छ । तोडफोड र आगजनीमा संलग्न प्रदर्शनकारी र नेतासहित शुक्रबार रातिसम्म ५५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कहाँ चुक्यो सुरक्षा निकाय ?
दुर्गा प्रसाईंसहितका राजावादी नेताहरूको आन्दोलन भड्काउने तयारीबारे सुरक्षा निकायलाई पूर्वसूचना नभएको होइन । उनीहरूको योजना थाहा पाएरै प्रहरीले सुरुमा सकेसम्म बल प्रयोग नगर्ने नीति बनाएको थियो । गृह मन्त्रालयले नै अन्तिम अवस्थामा मात्र गोली चलाउन निर्देशन दिएको थियो । तर, प्रहरीले बल प्रयोग गर्ने वेलासम्म आन्दोलन यति भड्कियो कि अवस्था नियन्त्रणबाहिर पुग्यो ।
निजी घर र व्यावसायिक भवन, दलको कार्यालय, सरकारी र निजी सवारीसाधन मात्र होइन, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा प्रर्शनकारीले तोडफोड गर्दै आगो लगाउँदासम्म प्रहरीको उपस्थिति देखिएन । कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्चिएको थियो । खबर गरेको ४५ मिनेटसम्म प्रहरी नपुगेको त्यहाँका कर्मचारीले बताएका छन् । अवस्था कस्तोसम्म आयो भने कतिपय स्थानमा खटिएका प्रहरी आफैँ असुरक्षित महसुस गरिरहेका थिए । कोटेश्वरकै प्रहरी कार्यालयमा तोडफोड हुँदा पनि प्रहरी निरीह देखियो ।
रक्षात्मक बन्ने नाममा समयमा बल प्रयोग नगर्दा नै यस्तो अवस्था आएको प्रहरी स्रोत बताउँछ । ‘कोही आन्दोलनकारीको मृत्यु भयो भने अवस्था भड्किन सक्छ भनेर गृह मन्त्रालयले बल प्रयोग नगर्न दबाब दिएको थियो,’ प्रहरी स्रोत भन्छ, ‘त्यसको फाइदा प्रदर्शनकारीले उठाए, यति उग्र भए कि नियन्त्रणमै लिन सकिएन ।’
प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न नदिँदाको परिणाम शुक्रबारको घटना भएको एक पूर्वप्रहरी अधिकारीले बताए । ‘विगतमा भिड नियन्त्रणमा बल प्रयोग गर्यो भनेर कतिपयलाई कारबाही गरिएको छ,’ उनले भने, ‘त्यसकारण अहिले बरु देश जलोस्, आफ्नो करिअर जोगाउनेतर्फ प्रहरी अधिकारी लागेको देखिन्छ ।’ असल नियतले बल प्रयोग गर्दा पनि विगतमा नेतृत्वले संरक्षण नगर्दा प्रहरीको मनोबल खस्किएको छ । पूर्वएआइजी उत्तमराज सुवेदीले स्रोत–साधनको अभावदेखि खस्किएको मनोबलका कारण भिड नियन्त्रणमा प्रहरीको कमजोरी देखिएको बताए ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी आन्दोलन हिंसात्मक हुन सक्ने भनेर आकलन गरिएको, तर यस्तो जघन्य किमिसका गतिविधि गर्छन् भनेर अनुमान नगरिएको बताए ।