मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ चैत ५ मंगलबार o६:१९:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज स्ववियु निर्वाचन : विद्यार्थी संगठनको अवरोधले दर्जन ठुला क्याम्पसमा रोकियो निर्वाचन

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार o६:१९:oo

त्रिभुवन विश्वविद्यालयका आंगिक ६२ वटासहित चार सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन हुँदै छ । हाल १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका दुईजना सभापति चुनिएका हुन् । बाँकी क्याम्पसमा मंगलबार हुने चुनावबाट नेतृत्व चयन हुनेछ । 

ठुला क्याम्पसमा विद्यार्थी नेताकै अवरोध र विवादका कारण चुनाव स्थगित भएको छ । ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको हो । उपत्यकाभित्र विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी, शंकरदेव, पब्लिक युथ, नेपाल ल र विश्वभाषामा मंगलबार चुनाव हुनेछैन । उपत्यकाबाहिर बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी, भैरहवा बहुमुखी, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस र कृषि क्याम्पस खैरहनीमा चुनाव स्थगित भएको छ । 

१३ क्याम्पसमा कुनैमा तोडफोड र कुनैमा तालाबन्दी छ । सोही कारण चुनाव हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले केही क्याम्पसमा चुनाव अवरुद्ध भएको जानकारी दिए । ‘सबै क्याम्पसमा चुनाव हुने अवस्था छैन, वातावरण ठिक भएका क्याम्पसमा मात्र चुनाव हुँदै छ,’ उनले भने, ‘वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा भने विवाद समाधान भएपछि चुनाव हुने अवस्था छ ।’ यी क्याम्पसमा जुन प्रक्रियाबाट चुनाव रोकिएको हो, त्यही प्रक्रियाबाट अन्य मितिमा चुनाव अघि बढाइने उनले बताए ।

यसपटक केही क्याम्पसमा तालाबन्दी र अवरोधको कारण बागी उम्मेदवार पनि हुन् । ठुला पार्टीनिकट विद्यार्थी संगठनबाट बागी उम्मेदवारी दिने थुप्रै छन् । आफूहरूलाई संगठनले टिकट नदिएपछि विद्यार्थी नेताहरू विद्रोह गर्दै बागी बनेर चुनाव लड्दै छन् । नेविसंघबाट त्रिचन्द्र, थापाथली र त्रिवि केन्द्रीय क्याम्पसमा बागी उम्मेदवारी दर्ता भएको छ । काठमाडौंबाहिर १५ भन्दा बढी क्याम्पसमा नेविसंघबाट बागी उम्मेदवार उठेका छन् । एमालेनिकट अनेरास्ववियूबाट आरआर, पाटन, पुल्चोक, मीनभवन, त्रिवि केन्द्रीय क्याम्पसलगायतमा बागी उम्मेदवार उठेका छन् । उपत्यकाबाहिर पनि करिब २० क्याम्पसमा बागी उम्मेदवार छन् । 

मनोनयन दर्ताका क्रममा गत बुधबार विवाद भएर निर्वाचन प्रक्रिया रोकिएको त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा ८ चैतमा चुनाव हुने भएको छ । निर्वाचन समितिले विश्वविद्यालय पदाधिकारीसँग र विद्यार्थीसँग छलफल गरेर चुनावको मिति सारेको हो । ‘निर्वाचन प्रक्रिया जहाँबाट रोकिएको थियो, त्यहीँबाटै प्रक्रिया अघि बढ्छ,’ निर्वाचन समितिका संयोजक प्रा.डा. कृष्ण न्यौपानेले भने, ‘८ चैतमा चुनाव गराएर छाड्छौँ, अब नाम फिर्ता लिने र दाबी–विरोध गर्ने समय पनि सकियो, तर तालाबन्दी अझै खुलेको छैन ।’ तालाबन्दी नखुल्दा सो दिन पनि निर्वाचन हुने हो होइन अझै निश्चित छैन ।

त्रिचन्द्रमा बागी उम्मेदवारले लगाए ताला
त्रिचन्द्र क्याम्पसमा नेविसंघबाट बागी उम्मेदवारी दिएका विवेक बानियाँले तालाबन्दी गरेका छन् । निर्वाचन समितिले बेवास्ता गर्दै अघि बढेको भन्दै उनले क्याम्पसमा तालाबन्दी गरेका हुन् । निर्वाचन समितिको बैठकमा आफूलाई सहभागी नगराएको बानियाँको आरोप छ । उनले सोमबार विज्ञप्ति जारी गरेर निर्वाचन समितिद्वारा आफ्नो मागलाई बेवास्ता गरिएको उल्लेख गरेका छन् । नेविसंघका बागी उम्मेदवारले कलेजमा ताला लगाएपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ । अनेरास्ववियूले चुनाव हुने वातावरण नबिगार्न भन्दै प्रदर्शनसमेत गरेको छ । 

क्याम्पसमा तोडफोड गर्नेलाई कारबाहीको माग
शिक्षा मन्त्रालयले त्रिविलगायतका क्याम्पसमा तालाबन्दी र तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार पत्राचार गर्दै शिक्षाले स्ववियूको निर्वाचन नजिकिएकाले चुनावलाई मर्यादित बनाउनसमेत ध्यानाकर्षण गराएको छ । यसअघि भएका तोडफोडका घटनामा संलग्नलाई पनि कारबाही गर्न शिक्षाले गृहसँग माग गरेको छ । स्ववियू निर्वाचनको मुखमा सत्तापक्षनिकट विद्यार्थीहरूले तोडफोड गरे पनि प्रहरीले पक्राउ गरेको छैन । जसकारण केही क्याम्पस अस्तव्यस्त अवस्थामा छन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा ८ चैतमा निर्वाचन हुने, यी १२ क्याम्पसमा अनिश्चित

शंकरदेव : स्ववियू निर्वाचनमा चासोका साथ हेरिने शंकरदेव क्याम्पसमा मनोनयन प्रक्रिया नै अघि बढेको छैन । स्नातक तहमा विद्यार्थी भर्ना गर्दा नियम मिचेको भन्दै नेविसंघले अवरोध गरेको छ । यही विवादलाई लिएर सोमबार क्याम्पसमा कुर्सी तोडफोडसमेत भएको छ ।

सरस्वती बहुमुखी : लैनचौरस्थित सरस्वती बहुमुखी क्याम्पसमा पनि चुनावी प्रक्रिया अवरोध छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियूले मतदाता र उम्मेदवारी दर्ता समयमै नआएको भन्दै अवरोध गरेको हो । निर्वाचन समितिले नै मनोनयन प्रक्रिया रोकेको छ ।

पब्लिक युथ : पब्लिक युथ क्याम्पसमा अखिल क्रान्तिकारीले अवरोध गरेको छ । नेविसंघ र अनेरास्ववियूले नक्कली मतदाता खडा गरेको भन्दै उसले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको छ । 

विश्वभाषा : विश्वभाषा क्याम्पसमा पनि अखिल क्रान्तिकारी र नेविसंघबिचको विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । यहाँ निर्वाचन समितिले स्थिति असामान्य भएको भन्दै निर्वाचन प्रक्रिया रोकेको छ ।

नेपाल ल : मतदाता नामावली प्रकाशनमा लफडा भएपछि चुनाव रोकिएको छ । विद्यार्थी संगठनहरूले नक्कली मतदातालगायतको विषयलाई विवादमा ल्याएका छन् । सोही विषय बढ्दै जाँदा चुनाव नै हुन सकेन ।

बुटवल बहुमुखी क्याम्पस : क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी संगठनले २५ फागुनमा बुटवल क्याम्पस र निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए ।

सुर्खेत बहुमुखी क्याम्पस : सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले एकलौटी निर्णय गरेको भन्दै अनेरास्ववियूले गत बुधबार क्याम्पसमा तोडफोड गरेपछि निर्वाचन अधिकृत प्रेम थापाले सूचना जारी गर्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगितको घोषणा गरेका हुन् ।

भैरहवा बहुमुखी क्याम्पस : यो क्याम्पसमा पाँचवटा विद्यार्थी संगठनले १८ फागुनमा निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेपछि चुनाव रोकिएको हो । चुनाव गराउन पहल गरिए पनि विद्यार्थीहरूको अवरोधका कारण चुनाव अघि बढ्न सकेको छैन ।

रामस्वरूप रामसागर बहुमुखी क्याम्पस : परीक्षाको विषयलाई लिएर कर्मचारीका दुई समूहबिच कुटाकुट भएको विषयलाई लिएर दलनिकट विद्यार्थी संगठनले चुनाव अवरोध गरेका छन् । 

पक्लिहवा बहुमुखी क्याम्पस : निर्वाचन समितिले एकलौटी रूपमा काम गरेको भन्दै क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले तालाबन्दी गरेका छन् । विद्यार्थीको तालाबन्दीपछि चुनाव रोकिएको हो ।

तेह्रथुम बहुमुखी क्याम्पस : मतदाता नामावलीमा नक्कली नाम भएको र निर्वाचन समितिले प्रभावकारी रूपमा काम नगरेको भन्दै विद्यार्थी संगठनले निर्वाचन प्रक्रिया अवरोध गरेपछि चुनाव रोकिएको छ ।

कृषि क्याम्पस खैरहनी : उम्मेदवारी दर्ताका क्रममा विवाद उत्पन्न भएपछि चुनावी प्रक्रिया रोकिएको थियो । विद्यार्थी संगठनहरूबिच समन्वय नहुँदा चुनाव नै प्रभावित बनेको छ ।