
धार्मिक एवं पुरातात्त्विक महत्त्वका क्षेत्रहरूका कतिपय ऐतिहासिक कुराहरू ओजेलमा परेका छन् भने प्रचारप्रसारका अभावमा पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न सकेका छैनन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ५ रहेको माछापोखरी करिब तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर, यो धार्मिक क्षेत्रमा पुरातात्त्विक विभाग वा संघीय र प्रदेश सरकार कसैको पनि नजर पुगेको छैन ।
माछापोखरीको ऐतिहासिक महत्त्व धेरै पुरानो मानिन्छ । यसलाई लिम्बू समुदायले पवित्र मान्दछन् । माछापोखरी आफ्नो प्राकृतिक सौन्दर्यले सिँगारिएको छ । यसको वरिपरिको हरियाली जंगल, हिमाली दृश्यहरू र शान्त वातावरण रहेको छ । पहरो छेडेर भुल्भभुल निस्किएको कञ्चन (संग्लाे ) पानी अनि सोही ठाउँमा रहेको पोखरीले आकर्षण दिएको छ । यो पोखरीमा भित्र रहेका सुन्दर माछाहरूले सुन्दरताभित्र सुन्दरता थपेको छ ।
पोखरीछेउमा गुफाभित्र अलाैकिक दैवी शक्ति रहेको बताइन्छ । यो पोखरीमा रहेका ती माछाहरू कसैले पनि निकालेर (माछा मारेर) खाने प्रयास गर्दैनन् । आजभन्दा करिब ४० वर्षअघि तत्कालीन ढुंगेसाँघु– १ का स्थानीयवासीले लुकिछिपी सो पोखरीको माछा निकालेर खाएका रहेछन् । खाएकै दिन राति ठुलो आधीबेहरी आयो, धेरैको घर उडायो, जेठ महिना भएकाले लहलह घोगा लाग्न आँटेका खेतबारीका मकै सबै सखाप पारेर ठुलो धनको क्षति भएको स्थानीय ७७ वर्षका भवानी बरालले बताए ।
उनले भोलिपल्ट खोज्दै जाँदा माछापोखरीका माछा निकालेर खाएकोले त्यो हावाहुरी आएर धनको क्षति गरेको भन्ने स्थानीयको निष्कर्ष निस्किएको सम्झन्छन् । त्यसपछि अहिलेसम्म कसैले पनि पोखरीको माछा निकालेर खाएका छैनन् । सदरमुकाम फुङलिङ बजारदेखि करिब २५ किलोमिटर पश्चिममा अवस्थित माछापोखरीमा अहिले मोटरेबल बाटोको पहुँच पुगेको छ ।
उता, आठराई त्रिवेणी गाउँपालिकाबाट माछापोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन लागिपरेको अध्यक्ष दीपेन्द्र पोमु (दीपेन)ले बताए । अध्यक्ष पोमुले बर्सेनि सो क्षेत्रमा विभिन्न कामका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । यो चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै सो रकमले ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई संरक्षण गरिने बताए ।