
आइसिसी च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले सात अर्ब ३९ करोड रुपैयाँ घाटा व्यहोरेको छ । च्याम्पियन्स ट्रफीमा छिमेकी राष्ट्र भारतले ‘हाइब्रिड’ मोडेलमा सहभागिता जनाएपछि पाकिस्तानले अर्बौँ घाटा सामना गरेको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ । पाकिस्तानमा १९ फेब्रुअरीदेखि ९ मार्चसम्म च्याम्पियन्स ट्रफी आयोजना भएको थियो । सन् १९९६ को एकदिवसीय विश्वकपपछि पाकिस्तानले आइसिसीको दोस्रो बृहत् प्रतियोगिता आयोजना गर्न अवसर पाएको थियो ।
पाकिस्तानले च्याम्पियन्स ट्रफी आयोजना गर्न आठ अर्ब ६९ करोड बजेट छुट्याइएको थियो । टिकट र मिडियाबाट ५२ करोडसँगै अन्य विभिन्न स्रोतबाट पाकिस्तानले ७८ करोड रुपैयाँ आम्दानी गर्यो । भारतले पाकिस्तानमा नखेल्नु नै आयोजकले ठुलो घाटा सहनुपरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को ‘हाइब्रिड’ मोडेलमा प्रतियोगितामा सहभागी हुने अडान पाकिस्तानले स्विकार्यो । हाइब्रिड मोडेलअनुसार च्याम्पियन्स ट्रफीका १० खेल पाकिस्तान र ५ खेल दुबईमा आयोजना भए । युएईले तीन समूह चरणका खेल, सेमिफाइनल तथा फाइनल खेल आयोजना गर्यो ।
भारतका सबै खेल युएईको तटस्थ मैदानमा भएको थियो । भारतले न्युजिल्यान्डलाई हराउँदै सन् २०१३ पछि आइसिसी च्याम्पियन्स ट्रफी हात पारेको थियो । अर्कोतिर पाकिस्तानमा तय भएको १० मध्ये तीन खेल वर्षाले प्रभावित बनाएको थियो ।
यी तीन खेलमा टससमेत हुन पाएन । पाकिस्तानले तीनवटै खेलका टिकटको सबै रकम दर्शकलाई फिर्ता गरेको थियो । नयाँ गद्दाफी रंगशालामा पाकिस्तानले न्युजिल्यान्डसँग मात्र खेल्न अवसर पायो । रावलपिण्डीमा बंगलादेशविरुद्धको खेल वर्षाले रद्द भयो । फेरि भारत फाइनलमा पुग्दा त्यसको असर आयोजकलाई परेको थियो । भारत सेमिफाइनल वा फाइनल नपुग्दा यी दुवै खेल पाकिस्तानमै हुने थियो ।
सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई हराउने आशा पाकिस्तानले गरेको थियो । यसकारण पाकिस्तानले फाइनलको टिकट बिक्री गरेको थियो । तर, एक पक्षीय रूपमा भारतले अस्ट्रेलियालाई हरायो । पाकिस्तानले फाइनलको टिकट फिर्ता गर्न बाध्य भयो ।
पाकिस्तानले ठुलो धनराशी खर्चेको थियो । सबैभन्दा धेरै बजेट रंगशालाको पुननिर्माणमै समावेश थियो । पिसिबीले रावलपीण्डी, कराँची र लाहोरको गद्दाफी रंगशालालाई विश्वस्तरीय बनाउन लगभग पाँच अर्ब ६० करोड रुपैयाँ खर्च गर्यो ।