
स्ववियु निर्वाचनअन्तर्गत जिल्लाका चारवटा क्याम्पसमा मतदान सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार सातवटा क्याम्पसमध्ये चारवटामा निर्वाध रूपमा मतदान भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेलका अनुसार पालुङ बहुमुखी क्याम्पसमा निर्वाचन कार्यक्रम रोकिएको छ भने वंशगोपाल बहुमुखी क्याम्पस र मनहरी क्याम्पसमा यसअघि नै निर्विरोध रूपमा नेतृत्व चयन भएको छ।
सोबाहेक मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वनविज्ञान अध्ययन संस्थानमा निर्वाचन कार्यक्रमअन्तर्गत मतदान जारी रहेको छ । मतदान दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।स्ववियु निर्वाचनका लागि मकवानपुर बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि दुईजना मैदानमा उत्रिएका छन् । प्रमुख दुई संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवार निर्वाचनको मैदानमा होमिएका छन्।
अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, अखिल क्रान्तिकारीबाट छोइसाङ लामा प्यानल बनाएर निर्वाचनको मैदानमा होमिएका छन् । स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरेले सोमबार आफ्नो समर्थन प्रसिद्ध रेग्मीलाई रहेको र आफू उम्मेदवार नभएको घोषणा गरेका छन्। छोइसाङ वर्तमान स्ववियु अध्यक्षसमेत हुन् । सो क्याम्पसमा दुई हजार ६९८ जना मतदाता रहेका छन्।
हेटौँडा क्याम्पसमा स्ववियु अध्यक्ष पदका लागि अभि मैनाली र दीपक वाइबा निर्वाचनको मैदानमा रहेका छन् । अनेरास्ववियुबाट मैनाली र अखिल क्रान्तिकारीबाट वाइबा प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् । क्याम्पसमा ६८५ जना मतदाता रहेका छन् । वनविज्ञान अध्ययन संस्थानको हेटौँडा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबाट श्यामराज भट्ट तथा अखिल क्रान्तिकारीबाट छात्र शाही अध्यक्ष पदका लागि मैदानमा होमिएका छन्। क्याम्पसमा ४३८ मतदाता रहेका छन्।
हेटौँडा– १९ स्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट प्रशान्त भण्डारी र अखिल समाजवादीबाट नवीना घलान अध्यक्ष पदको उम्मेदवार छन् । निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदाता छन् । थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुमिना खत्री अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन् । क्याम्पसमा ७२ जना मतदाता रहेका छन्। उक्त क्याम्पसमा निर्वाचन समितिले एकलौटी ढंगबाट अघि बढेको भन्दै नेविसंघ र अनेरास्ववियुले निर्वाचन कार्यक्रम बहिष्कार गरेपछि प्रक्रिया स्थगित भएको छ।