मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
भोजपुर नगरपालिका १२ मा आगलागीले क्षति पुर्‍याएको घर
२o८१ चैत ५ मंगलबार o६:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वनको डढेलो बस्ती पस्दा भोजपुर र खोटाङमा १९ घर जले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार o६:१२:oo

वनमा लागेको डढेलो बस्ती पस्दा भोजपुर र खोटाङमा १९ घर जलेका छन् । सोमबार भोजपुरको भोजपुर नगरपालिका– १२, पारपानीमा १० र  अरुण  गाउँपालिका– ७ सिक्रेटारमा दुई घर जलेका हुन् । इमाने सामुदायिक वनमा लागेको डढेलो पारपानीमा र जलसिंह तारेभिर सामुदायिक वनको डढेलो सिक्रेटारमा फैलिएको हो ।

त्यस्तै, खोटाङको बाल्छी खोला सामुदायिक वनको डढेलो फैलिँदा हलेसी तुवाचुङ नगरपालिका– २, डिकुवाका अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अविन्द्र राई र हीराधन राईको घर जलेका छन् । त्यस्तै, बालकन्या आधारभूत विद्यालयको काठकोे दुईकोठे प्रशासनिक भवन पनि डढेलोले जलेको छ । 

यसबाहेक भोजपुरको रामप्रसाद राई गाउँपालिका–४, केराबारीस्थित बस्तीमा आगलागी हुँदा दुई घर र केही गाईगोठ जलेका छन् । अचानक बाँसघारीमा भएको आगलागी बस्तीमा फैलिएको हो ।

बस्तीको आगो निभ्यो, वनमा डढेलो कायमै 
भोजपुर नगरपालिका– १२, पारपानीमा १० घर जलेपछि आगलागी नियन्त्रणमा लिइएको छ । तर, इमाने सामुदायिक वनमा लागेको डढेलो अझैै नियन्त्रणमा आउन सकेको छैन । 

‘आगलागीमा घर, गोठ र पशुचौपायाको क्षति भएको छ, गाउँमा फैलिएको आगो नियन्त्रणमा आए पनि वनको डढेलो कायमै छ,’ भोजपुर प्रहरीप्रमुख डिएसपी युवराज तिमिल्सिनाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो । जंगलमा दमकल जान नसक्दा वनको डढेलो नियन्त्रण गर्न गाह्रो भएको प्रहरी निरीक्षक अरबिन्द साहले बताए ।

त्यस्तै, भोजपुरकै अरुण गाउँपालिका–७, सिक्रेटारमा आगलागी हुँदा दुईवटा घर जलेका छन् । जलसिंह तारेभिर सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिएको थियो । क्षतिको सबै विवरण आइनसकेको प्रहरीले जनाएको छ ।