मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १o:५२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘झुटको कारखाना’ भनेर चिनिने ‘भिओए’ अवसानतर्फ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १o:५२:oo
  • द्वन्द्व र सामाजिक विभाजनलाई भड्काउने र सत्तापलट प्रयासमा संलग्न रहने भिओएलाई वासिंटनको प्रोपगान्डा संयन्त्रका रूपमा चिनिन्छ

यही १५ मार्चमा स्थानीय समयअनुसार भ्वाइस अफ अमेरिका (भिओए) का निर्देशक माइकल अब्रामोविट्जले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना ‘करिब सबै कर्मचारी अर्थात् एक हजार तीन सय कर्मचारी’लाई बिदामा राखिएको पुष्टि गरेका छन् । एक दिनअगाडि ह्वाइट हाउसले विभिन्न संघीय निकायका लागि बजेट कटौतीको आदेश दिएको थियो । यस क्रममा अमेरिकी ग्लोबल मिडिया एजेन्सी (युएसएजिएम) अन्तर्गत रहेका रेडियो फ्री युरोप÷रेडियो लिबर्टी, रेडियो फ्री एसिया र मिडल इस्ट ब्रोडकास्टिङ नेटवक्र्सको पनि वित्तीय सहायता रोकिएको छ । तथाकथित स्वतन्त्रताको प्रकाशस्तम्भ मानिने भिओएलाई आफ्नै सरकारले आज प्रयोग गरेर फालिएको टालोजस्तै व्यवहार गरेको छ ।

सन् १९४२ मा स्थापना भएको भिओए शीतयुद्धको समयमा वैचारिक टकरावको प्रमुख प्रोपगान्डा संयन्त्र बन्यो । पछिल्ला दशकमा स्वतन्त्रता र लोकतन्त्रका नाममा भिओए विश्वभर ४० भन्दा बढी भाषामा प्रसारण हुँदै आएको थियो, जसको उद्देश्य अमेरिकालाई ‘उच्च नैतिक स्थानमा रहेको भूमि’का रूपमा प्रस्तुत गर्नु हो । तर, यसको स्वतन्त्रता र विश्वसनीयतामाथि लामो समयदेखि प्रश्न उठ्दै आएको छ । द्वन्द्व भड्काउने, सामाजिक विभाजनलाई उक्साउने र यहाँसम्म कि सत्ता परिवर्तनका प्रयासमा समेत संलग्न रहनेजस्ता कारण भिओएलाई वासिंटनको प्रोपगान्डा संयन्त्रका रूपमा चिनिन्छ । रेडियो फ्री एसिया र रेडियो फ्री युरोप÷रेडियो लिबर्टीझैँ यसको मुख्य उद्देश्य अमेरिकाको वैचारिक आवश्यकताअनुसार अन्य देशलाई आक्रमण गर्नु हो ।

चीनसम्बन्धी समाचार रिपोर्टिङमा भिओएको रेकर्ड अत्यन्तै घटिया रहँदै आएको छ । भिओएले सिनजियाङमा मानवअधिकारलाई बदनाम गर्नेदेखि लिएर दक्षिण चीन समुद्रको विवादलाई उचाल्नेसम्मको काम गरेको छ । साथै, यसले ताइबानी स्वतन्त्रता समर्थकलाई सहयोग गर्ने गरेको देखिन्छ । यसबाहेक हङकङका दंगाईलाई समर्थन गर्ने, तथाकथित ‘चाइना भाइरस’ को झुटा कथा कथ्नेदेखि लिएर चीनको ‘अधिक उत्पादन क्षमता’ भन्ने दाबीलाई प्रवद्र्धन गर्नेसम्म चीनविरुद्धका लगभग सबै कपोलकल्पित आरोपमा भिओएको संलग्नता देख्न सकिन्छ ।

एकजना भिओए पूर्व–कर्मचारीका अनुसार चीन आएपछि मात्रै उनले दिनहुँ पढेर सुनाउने भिओएका समाचार रिपोर्ट चीनको वास्तविकतासँग पूर्ण रूपमा विपरीत देखिए । रिपोर्टरका अनुसार केही भिओए कर्मचारीलाई केवल चीनबारे सकारात्मक समाचार थप्न सुझाव दिएका कारण हटाइएको थियो । भिओए कहिल्यै ‘निष्पक्ष र तटस्थ’ मिडिया संस्था थिएन भन्ने स्पष्ट छ, बरु यो पूर्णरूपमा पक्षपाती ‘प्रोपगान्डा विष’ हो । अहिले वासिंटनमा संघीय निकायको बजेट कटौतीको पृष्ठभूमिमा भिओएजस्ता संस्थाको वित्तीय सहायता रोक्ने निर्णयलाई केही अमेरिकी चीनविरोधी राजनीतिज्ञले चीनलाई दिइएको ‘विशाल उपहार’को रूपमा चित्रित गरेका छन् । यसले भिओए स्वयंलाई प्रोपगान्डाको संयन्त्र भएको पर्दाफास गरिदिएको छ ।

गत महिना एलन मस्कले एक्समा भिओएको आलोचना गर्दै ‘अहिले कोही पनि भिओएलाई सुन्दैन’ र ‘यो केवल उग्र वामपन्थीबिच आपसमा गफ गरिरहने र अमेरिकी करदाताको एक अर्ब डलर दुरुपयोग गर्ने थलो मात्र हो’ भनेका थिए । यो टिप्पणीले अमेरिकी जनताको ठुलो हिस्साको धारणा प्रतिबिम्बित गर्न सक्छ ।
सम्भवतः अमेरिकी सरकारले पनि यी पुराना र अप्रभावकारी संस्थामा राष्ट्रिय कोषको ठुलो हिस्सा खेर फालिरहनु न त अर्थपूर्ण छ, न त देशकै हितमा छ भन्ने बुझेको छ । वास्तवमा, यस्ता संस्थाको निरन्तर अस्तित्वले विश्वभर केवल थप अराजकता र समस्या मात्र सिर्जना गर्छ ।

कम्बोडियाको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय सहयोग विभागले एकपटक भिओएलाई ‘व्यावसायिक नैतिकता’ नभएको भन्दै आलोचना गरेको थियो । मन्त्रालय र विभागले भिओएले कम्बोडिया र चीनबिचको सामान्य अन्तक्र्रिया र सहकार्यलाई गलत ढंगले बदनाम गर्न फोहोरी रणनीति अपनाएको आरोप लगाएको थियो । सन् २०२३ मा किर्गिस्तानले रेडियो फ्री युरोप÷रेडियो लिबर्टीको स्थानीय शाखा बन्द गर्ने आदेश दियो र गत वर्ष रुसले यो संस्थालाई ‘अवाञ्छित संस्था’को रूपमा सूचीबद्ध गरेको थियो ।

भिओएका कर्मचारीलाई हालै बिदामा राखिएको घटनाले अस्ट्रेलियाको एउटा चीनविरोधी थिंक ट्यांकले अमेरिकी सरकारबाट प्राप्त कोष कटौतीको कारण सार्वजनिक रूपमा गुनासो गरेको हास्यास्पद नाटकको झल्को दिन्छ । यसले चीनसम्बन्धी ‘संज्ञानात्मक युद्ध’को कथावस्तुपछाडि रहेको उद्योग शृंखलाको असहज यथार्थलाई झन् प्रस्ट पार्छ अर्थात् वित्तीय सहयोगीविना यसको अस्तित्व टिकाइरहन कठिन हुन्छ ।

शीतयुद्धको समयमा सक्रिय भएको र धेरै कमजोरी देखिएको ‘संज्ञानात्मक युद्ध’को संयन्त्रका रूपमा भिओएजस्ता संस्थाको अस्तित्व आजको बहुध्रुवीय विश्वमा उपयुक्त छैन । चाहे त्यो भिओए होस् वा चीनविरोधी थिंक ट्यांक, बजेट कटौती, कर्मचारी कटौती वा पूर्ण रूपमा बन्द हुने अवस्था अवश्यम्भावी छ । नतिजा यी संस्थाहरू इतिहासको रद्दीको टोकरीमा मिल्किन बाध्य हुनेछन् ।

सूचनाको युगमा केही परम्परागत पश्चिमी मिडियाले ओगटेको सूचना एकाधिकार बिस्तारै टुक्रिँदै गएको छ । भिओएजस्ता ‘झुटका कारखाना’द्वारा स्थापित भाष्यको वर्चस्वलाई कुनै पनि समयमा घटनास्थलबाट सर्वसाधारणले पोस्ट गरेको एउटा छोटो भिडियोले नै तोड्न सक्छ । भिओएले अत्यन्तै सिपालु ढंगले निर्माण गरेको ‘सार्वजनिक अवधारणाको फलामे पर्दा’ अनगिन्ती मिडिया र स्वतन्त्र सञ्चार माध्यमद्वारा प्रस्तुत गरिने वास्तविक सामग्रीको प्रभावमा भत्किने अवस्थामा पुगेको छ । जब अधिक अमेरिकी नागरिकले आफ्नो सूचना घेराबन्दीलाई चिर्दै वास्तविक विश्व र बहुपरिणामी चीनलाई देख्न थाल्छन्, तब भिओएद्वारा फैलाइएका दानवीकरण गर्ने भाष्य अन्ततः ठट्टाबाहेक केही हुनेछैन ।

(१७ मार्चको ग्लोबल टाइम्सको सम्पादकीय)