
कञ्चनपुरका विभिन्न ६ क्याम्पसमा स्वतन्त्र विद्यार्थी (युनियन)को निर्वाचन हुन लागेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका जिल्लाका सम्बन्धनप्राप्त क्याम्पसहरूमा विद्यार्थी नेता (स्ववियु) चयनका लागि निर्वाचन हुन लागेको हो । मंगलबार त्रिविले तोकेको निर्धारित समयमै मतदान सुरु भएको क्याम्पसहरूले जनाएका छन् । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र भानु बहुमुखी क्याम्पस दोधारामा निर्वाचन भइरहेको छ ।
भानु बहुमुखी क्याम्पस दोधाराका उपप्राध्यापक डम्बर जोशीले त्रिविले तोेकेकै समयमा मतदान भइरहेको बताए । कञ्चन बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख राजेन्द्र भट्टले पनि मतदान भइरहेको बताए । यसअघि कृष्ण बैजनाथ र दानेश्वर बहुमुखी क्याम्पसमा निर्विरोध स्ववियु चयन भएको छ ।
कृष्ण बैजनाथ झलारीमा नेविसंघ सभापतिसहित अखिल क्रान्तिकारी, अनेरास्ववियुबिच भागबन्डा भएको छ। दानेश्वरमा अनेरास्ववियुकै प्यानलै र रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको सभापतिबाहेक पदाधिकारी सदस्य यसअघि निर्विरोध निर्वाचित भएका छन् । त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञानसहित कञ्चन विद्यामन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदयसरस्वती र वारिधि, बालजागृतिमा निर्वाचन हुन लागेको छैन। सिद्धनाथ विज्ञान क्याम्पसले धम्कीले निर्वाचन गर्न नसकिएको भन्दै स्थगन गरेको छ। सत्ताधारी अनेरास्ववियुले वारिधि, बालजागृतिमा तालाबन्दी गरेको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दलबहादुर धामी (अरिवल)ले नेता बन्ने नर्सरी विद्यार्थीबाटै छान्नका लागि उत्लासपूर्ण मतदान भइरहेको बताए। अनेरास्ववियु जिल्ला अध्यक्ष अमर धामीले सबै क्याम्पसमा होमिएर निर्वाचन भइरहेको बताए । नेविसंघ अध्यक्ष नरेश पण्डितले निर्वाचन भइरहेका सबै क्याम्पसहरूमा नेविसंघको उम्मेदवारी दिएको मतदानमा नेविसंघले पूर्ण सघाइरहेको बताए। यसअघि ०७९ सालमा भएको स्ववियु निर्वाचनमा आठ मात्रै क्याम्पसमा मतदान भएको थियो ।